नेकपाका कार्यकर्ताहरुलाई काठमाडौंमा भोज, कहाँबाट आयो पैसा ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको (नेकपा)ले शनिबार काठमाडौंमा गर्न लागेको चियापन कार्यक्रमको खर्चलाई लिएर सामाजिक सञ्जालमा प्रश्न उठ्न थालेको छ ।

खर्चका बारेमा नेकपाले केही बताएको छैन । चियापानमा पचास हजारलाई निम्तो बाँडिएको छ । चियापान कार्यक्रममा कम्तीमा पनि पचास लाख खर्च हुने पूर्वएमाले निकट एक केन्द्रीय सदस्यले जानकारी दिए ।

नेकपाले विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा भृकुटीमण्डपस्थित बगैँचामा चियापान कार्यक्रम राखेको छ ।

चियापानको तयारीबारे बुधबार नेकपाका महासचिव तथा चियापान समारोह समितिका संयोजक विष्णु पौडेल, स्थायी समिति सदस्य योगेश भट्टराईले भृकुटीमण्डपस्थित चियापानस्थलको निरीक्षण गरेका छन् ।

नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले ५० हजारलाई निम्तो बाँडिएको बताएका छन् । चियापान कार्यक्रम दिउँसो १२ बजेदेखि ५ बजेसम्म हुनेछ ।

केन्द्रीय सदस्य श्रेष्ठका अनुसार दिउँसो १२ देखि ३ बजेसम्म पार्टीका कार्यकर्ता र सर्वसाधारणका लागि समय छुट्याइएको छ ।

दिउँसो ३ बजेदेखि ५ बजेसम्म विशिष्ट अतिथिको लागि समय छुट्टाइएको छ । दिउँसो ३ बजेदेखि नेपालस्थित विदेशी कूटनीतिज्ञ, राजनीतिक दलका नेता, संवैधानिक अंगका पदाधिकारी सहभागी हुनेछन् ।

यसअघि तत्कालीन एमाले र तत्कालीन माओवादीले केन्द्रले राष्ट्रिय सभामा गरेका कार्यक्रमहरुको पैसा काठमाडौं महानगरपालिकालाई अहिलेसम्म नबुझाएको स्रोतले जनाएको छ । ती कार्यक्रमहरु मेयर विद्यासुन्दर शाक्यको नाममा राखिएको महानगरपालिकाका एक कर्मचारीले बताए ।

एमालेबाट मेयरमा विजयी भएका शाक्यले गुण तिर्न नेकपाले गर्ने कार्यक्रमहरुको खर्च आफ्नै नाममा राख्ने गरेको आरोप छ । राष्ट्रिय सभा भाडामा लिँदा पनि रजिष्टरमा मेयर शाक्यकै नाममा उल्लेख गरिएको छ । राष्ट्रिय सभामा कार्यक्रम गर्न एक लाख लाग्छ ।

राष्ट्रिय सभामा जस्तै भृकुटीमण्डपमा पनि नेकपाले चियापान कार्यक्रम गरेको भाडा नतिर्ने हो कि भनेर प्रश्न उब्जिएको छ ।

Published : Wednesday, 2018 October 24, 3:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया