कांग्रेसले यसरी सम्झियो चक्रप्रसाद बास्तोलालाई, सानेपामा सन्नाटा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका स्वर्गीय नेता चक्रप्रसाद बाँस्तोलालाई राष्ट्रप्रति समर्पित नेताको रूपमा चित्रण गरेका छन् ।

पार्टी मुख्यालय सानेपामा बिहीबार आयोजित शोक सभामा देउवाले तत्कालीन सशस्त्र विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन स्वर्गीय नेता बाँस्तोलाले भारतमा बसेर पुर्‍याएको योगदानको स्मरण गरे ।

उनले नेपालको राजनीति, समाजसेवा र कूटनीतिक क्षेत्रका बाँस्तोलाले देखाएको बाटोबाटै पार्टीलाई अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेता बाँस्तोलाले नेपालको राजनीति, कूटनीति र समाजसेवामा दिएका योगदानको चर्चा गरे ।

उनले नेता बाँस्तोलालाई अदभूत क्षमताका भएका नेताको रूपमा पनि स्मरण गराए । उपसभापति निधिले नेता बाँस्तोलाले भारतसँगको सीमा समस्या समाधानसम्बन्धी लिएको अडानको पनि तारिफ गरेका थिए ।

मस्तिष्क घातका कारण थलिएका नेता बाँस्तोलाको गत असोज २७ गते शनिबार ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा निधन भएको थियो । बाँस्तोलाले परराष्ट्रमन्त्री र भारतका लागि नेपाली राजदूतको भूमिका पनि कुशलताका साथ निर्वाह गरेका थिए ।

नेता बाँस्तोला २०४६ सालको जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारलाई परराष्ट्र नीति निर्माणमा महत्वपूर्ण योगदान दिने नेताको रूपमा पनि परिचित थिए ।

यसैबीच, कांग्रेस उपसभापति निधि चक्रप्रसाद बास्तोलालाई सम्झेर भक्कानिएका छन् । शोकसभामा पार्टी उपसभापति निधि रोएका हुन् ।

शोकसभामा सम्बोधनका लागि बोल्न शुरु गरेका निधिको गला अवरुद्ध भयो । उनी केही सहज हुन प्रयास गर्दै थिए, तर सकेनन् । आँशु पुछे र थप बोल्न थाले ।

‘किसुनजी र गिरिजा बाबु मात्रै होइन, सुशील कोइराला र शेरबहादुर देउवालाई मिलाएर लैजाने भूमिका उहाँले खेल्नुभयो,’ आँशु पुछ्दै निधिले बास्तोलाले विगतमा पार्टीको आन्तरिक विवाद मिलाउन खेलेको भूमिका स्मरण गरे ।

Published : Thursday, 2018 October 25, 12:49 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया