डीआईजीपी कार्कीद्वारा पाल्पा प्रहरीको निरीक्षण, तस्करी नियन्त्रण गर्न निर्देशन
तानसेन । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख (डीआईजीपी) दानबहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय पाल्पाको निरीक्षण भ्रमण गरेका छन् ।
मंगलबार प्रहरी नायव महानिरीक्षक कार्कीले पाल्पा प्रहरीको निरीक्षण र कार्यसम्पादनका विषयमा जानकारी लिएका हुन् । उनले निरीक्षणका क्रममा कानून विपरितका कार्यहरू कडाइका साथ नियन्त्रण गर्न निर्देशन समेत दिएका छन् ।
शान्ति सुरक्षा बनाइ जनतालाई सुरक्षाको अनुभूति दिने, गाई/गोरुको तस्करी नियन्त्र, कानून विपरितका कार्यलाई कडाइका साथ रोक्नुपर्ने लगायतका कार्य गर्न डीआईजीपी कार्कीले निर्देशन दिएका छन् । उनले राम्रो काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार र प्रहरी संगठनको आचरण विपरितका कार्य गर्नेलाई दण्डाको व्यवस्था हुने बताएका छन् ।
डीआईजीपी कार्कीलाई जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख (एसपी) नरेन्द्र चन्दले जिल्लाको वस्तुस्थिति र शान्ति सुरक्षा लगायत कार्यसम्पादनका विषयमा जानकारी गराएका छन् ।
डीआईजीपी कार्कीले लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि कार्यतालिका नै बनाएर मातहतलाई कार्यसम्पादनको जिम्मेवारी दिएका छन् । उनी मातहतका जिल्लाहरूमा पुगेर स्थलगत निरीक्षण र अनुगमन तथा कार्यसम्पादनको जानकारी लिने कार्य गर्ने गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया