विनाश भइरहेको वन बचाएर ग्लोबल वार्मिङको असर कम गर्न सकिन्छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा वन विनाश भइरहेको भन्दै बचाएर जलवायु परिवर्तनका असर घटाउन सके ग्लोबल वार्मिङको असर कम गर्न सकिने बताएका छन् ।
शुक्रबार वीपीनगर, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले भने, ‘हाम्रो वन खत्तम हुन थालेको छ ।’
‘वनलाई बचायौं र ४० देखि ६० प्रतिशत जंगल हामीले बचाउन सक्यौँ भने त्यसले नेपालका लागि धेरै कुरामा मद्दत गर्न सक्छ’, देउवाले भने ।
‘देशभरिमा नै ग्लोबल वार्मिङको चिन्ता सुनाउनुपर्छ र सबै जनतालाई हरित प्रवर्द्धनमा लाग्न प्रेरित गर्नुपर्छ’, सभापति देउवाले भने ।
नेपालले जलवायु परिवर्तनका सबैभन्दा खराब असर भोगिरहेको उनले बताएका छन् । विश्वमा बढ्दो तापक्रमका कारण ग्लेसियर पग्लिएर हिमाल नाङ्गा बनिरहेको भन्दै देउवाले त्यसको असर नेपालसँगै विश्वलाई नै पर्ने बताएका छन् ।
उनले भने, ‘अहिले क्लाइमेट चेञ्जले विश्वलाई नै समस्या पारिरहेको छ । नेपाल क्लाइमेट चेन्जको वर्स्ट भिक्टिम बनिरहेको छ ।’
‘समुद्री सतह बढिरहेको छ । ग्लेसियर पग्लिएर हिमाल नाङ्गा भइरहेका छन्’, देउवाले भने, ‘त्यसकारणले नेपालले सबैभन्दा बढी ध्यान दिनुपर्ने विषय क्लाइमेट चेञ्ज हो ।’
उनले ग्लोबल वार्मिङका असरहरू नेपालमा देखिइसके पनि नेपालले मात्र चाहेर यसको सुधार सम्भव नरहेको बताएका छन् ।
सभापति देउवाले भने, ‘नेपालले पेट्रेलियम (डिजेल/पेट्रोल)को आयात घटाउने । इलेक्ट्रिक भेइकल बढाउन सक्यौँ भने काठमाडौंबाट सुधारको थालनी हुनसक्छ, ठाउँ ठाउँमा चार्जिङ स्टेसन राखियो भने नेपालले पेट्रोलियम आयात घटाउन सक्छ ।’
देउवाले आफूलाई स्वच्छ राख्दै नेपालले अभियान चलाए विश्वलाई नै ध्यानाकर्षण गर्न सक्ने बताएका छन् । उनले भने, ‘नेपालले अभियान चलाएर जागरणका कार्यक्रम गर्न सकिन्छ । यसले नेपालले आफूलाई स्वच्छ राख्छ राख्छ, विश्वलाई पनि धेरै ठूलो मद्दत गर्न सक्छ भन्ने सन्देश जान्छ ।’
उनले भने, ‘विश्वभर क्लाइमेट चेञ्जको अवारनेस बढेको छ । विश्वलाई उदाहरण दिन हामीले वन बचाउनु धेरै महत्वपूर्ण कुरा छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया