राष्ट्रपतिलाई भेटेपछि प्रधानमन्त्री ओलीका तीन निर्णय
काठमाडौं । सरकारले तीन वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
शुक्रबार राति सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले केही नेपाल ऐन संशोधन अध्यादेश, भूमिसम्बन्धी कानून संशोधन गर्न बनेको अध्यादेश र लगानीसम्बन्धी कानून संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी ओलीले सामाजिक सञ्जालमार्फत अध्यादेश सिफारिस भएको जानकारी दिएका छन् । ‘हिजोको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत आइटीमा गरेको कमाइ स्वदेश भित्र्याउन सहज बनाउने कानून राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ’, ओलीले भने ।
‘यसले आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रूपमा विकास गर्ने हाम्रो विश्वास छ’, प्रधानमन्त्री ओलीले भनेका छन् ।
केही नेपाल ऐन संशोधनसहित तीन अध्यादेश मन्त्रिपरिषदबाट पारित भएका छन् । पारित भएका अध्यादेशमा गैर आवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति र तिनको परिवारको सदस्यले १० वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउने लगायतका कानूनी व्यवस्था गर्न अध्यादेश ल्याइएको छ ।
सेवा प्रवाहमा नागरिक एप प्रयोगमा ल्याउने कानूनी व्यवस्था गर्न, श्रमिकको अनिवार्य अवकाश उमेर हद ५८ बाट ६० वर्ष बनाउन, नेपाल सरकारको कार्य सम्पादन सरलीकरण गर्दै कुनै निर्णय गर्नु पर्ने अधिकारीले कानूनमा मिति तोकिएको भए सोही बमोजिम र अन्य सबै अवस्थामा बढीमामा ७ दिनभित्र निर्णय गर्नुपर्ने कानूनी व्यवस्था अध्यादेशमार्फत गरिएको छ ।
अध्यादेश पारित गर्नुभन्दा अगाडि प्रधानमन्त्री ओलीले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका थिए । भेटका क्रममा ओलीले कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, मुख्य सचिव एकराज अर्याल लगायतलाई लिएर राष्ट्रपति कार्यालय पुगेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया