भोटेबहालमा लाखौंको चोरी, चार जना अभियुक्तहरू पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट पदमाकुमारी तुलाचनको कोठाबाट चोरी गर्ने ४ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–११ भोटेबहालस्थित तुलाचनको कोठाबाट सुनका विभिन्न गरगहना र नगद चोरी भएको थियो । चोरीको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा रामेछापको दोरम्बा गाउँपालिका–३ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–९ ढुङ्गिनी बस्ने ३८ वर्षीय तीर्थबहादुर थापा मगर, दोरम्बा गाउँपालिका–४ घर भई काठमाडौंको गोठाटार बस्ने ४३ वर्षीय सुवास मगर, सिन्धुलीको मरिण गाउँपालिका–२ घर भई ललितपुरको इमाडोल बस्ने ३८ वर्षीया सुनिता तामाङ र खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–५ मोती चोक बस्ने ४७ वर्षीय बलराम विश्वकर्मा रहेका छन् ।

तुलाचनको कोठाबाट पुस १६ गते सुनका विभिन्न गरगहना र नगद गरी करिब १६ लाख ५५ हजार रूपियाँ बराबरको धनमाल चोरी भएको थियो ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट स्वरूप परिवर्तन गरिएको सुन १ तोला ७७ लाल, स्कुटर १ थान, नगद ३० हजार रूपियाँ र मोबाइल ४ थान बरामद गरेको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकाली पठाइएको छ ।

Published : Wednesday, 2025 January 22, 1:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया