दुई ठूला दल मिलेर सरकार बन्दा पनि लक्ष्यअनुसार काम हुन सकेन : कांग्रेस सांसद खनाल
मसुरिया । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभा सदस्य राजु खनालले लुम्बिनी प्रदेश सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।
बुधबार देउखुरीको मसुरियामा बसेको लम्बिनी प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद खनालले सरकार गठन भएको ६ महिना भइसक्दा पनि लक्ष्यअनुसार विकासका काम हुन नसकेको बताए । पुँजिगत खर्च मुस्किलले २० प्रतिशत मात्रै भएको भन्दै पूर्वमन्त्री समेत रहेका खनालले राजस्व पनि लक्ष्यभन्दा निकै कम संकलन भएको बताए ।
उनले भने, ‘दुई वटा ठूला दल मिलेर सरकार गठन भएको र अत्यन्त बलियो सरकार हामीले प्रदेशमा पाएका छौँ । करीव ६ महिना सरकार गठन भएको भइसकेको छ । तर, पनि विकास निर्माणका जुन गतिहरू हामीले लक्ष्य लिएको र योजनाहरू बजेट विनियोजनका कार्यक्रमहरू जुन गुतिमा अगाडि जानु पर्ने थियो त्यो गतिमा गइरहेको हामीले महशुस गरिरहेका छैनौँ ।’
‘लुम्बिनीबासी जनताले पनि त्यो महशुस गर्न सकिरहेका छैनन् । सरकारले यसलाई कसरी गर्छ ? सांसदहरूको सहयोग लिने हो कि ? विज्ञहरूको सहयोग लिएर काम गर्ने हो ? के के समस्या छन् ? त्योभित्रमा कयौँ नीतिगत समस्या हुन सक्छन् । कहिँ कार्यक्रमका समस्या होलान् । या हचुवाका भरमा योजनाहरू समावेश गरियो त्यस कारणले पनि ती योजनाहरू अगाडि बढाउन समस्या भएको हुन सक्छ’, सांसद खनालले भने ।
‘त्योबारेमा एउटा निर्क्यौल गरेर अहिले हाम्रा प्राथमिकता, सरकारका प्राथमिकताहरू के हुन् ? कुन कुन योजनाहरूलाई कुन कुन कार्यक्रमहरूलाई विशेष बजेटको व्यवस्थापन गरेर त्यसलाई अगाडि लैजानुपर्छ, जसले गर्दा लुम्बिनीको आर्थिक विकास गर्न सकियोस्, भौगोलिक विकास अगाडि बढाउन सकियोस्, त्यो बाटोमा लाग्नको लागि सरकार अगाडि जाओस् भन्ने कुरा राख्न चाहन्छु’, उनले भने ।
‘अहिलेसम्म विकास खर्च हेर्ने हो भने पुँजिगत खर्च करीव २० प्रतिशत पुग्ने अवस्था छ । प्रदेशको राजश्व संकलनको आवस्था हेर्ने हो भने हामीले अनुमान गरेको बजेटभन्दा जम्मा १८ प्रतिशत अगाडि गएको छ’, कांग्रेसका सांसद खनालले भने ।
‘हामीले लिएका लक्ष्यहरू कसरी पूरा गर्न सक्छ सरकारले ? यो आर्थिक वर्षको आधा समय व्यतित गरिसकेका छौँ । हामीसँग बजेट कार्यान्वयन गर्न आधा समय मात्रै बाँकी छ’, उनले भने, ‘हामीले गरेको काम, अहिलेका कार्यक्रमहरू लक्ष्यअनुसार अगाडि जान सकेको छैन ।’
खनालले भने, ‘सरकार चनाखो र क्रियाशीलतापूर्वक अगाडि जान सकिन्छ, अझै प्रभावकारी रुपमा अगाडि जान सकिन्छ त्यो बाटोमा लाग्नका लागि सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’
खनालले हिउँदे वर्षात् नभएका कारण किसानहरूलाई क्षति भएको भन्दै किसानलाई क्षतिपूर्ति दिने विषयमा लुम्बिनी प्रदेश सरकारले ध्यान दिनुपर्ने बताएका छन् । ‘हिउँदे वर्षा भएको छैन । किसानहरूलाई राहत दिनका लागि सरकार तयार भएर बस्नु पर्छ । मलको समस्या समयमा सधान गर्नुपर्छ’, कांग्रेसका सांसद खनालले भने ।
उनले लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरूमा अदुवा, टिम्मुर, सन्तला खेतीमा किसान आकर्षित भएको बताएका छन् । ‘उत्पादित बस्तुले बजार पाएका छैनन् । बजारमा जानुपर्ने बेला सस्तोमा बिक्री गर्नु परेको छ’, उनले भने, ‘त्यसले गर्दा किसानलाई क्षति भएको छ । किसानहरू बिमुख हुने अवस्था छ । शीतभण्डारमा राखेर किसानलाई राहत दिनुपर्छ ।’
सांसद खनालले दाङको बंगलाचुली गाउँपालिकामा किसानहरू कागत, अदुवा लगायतका खेतीमा आकर्षित भएको भन्दै उनीहरूलाई आवश्यक पर्ने सहयोग गर्नुपर्ने बताएका छन् । खनालले उनीहरूले बजार र मूल्यको सुनिश्चितता खोजीरहेको बताएका छन् ।
कांग्रेसका सांसद खनालले लुम्बिनी प्रदेशमा अत्याधिक दुर्घटना हुने प्रदेशमा परेको भन्दै चिन्ता गरेका छन् । उनले दाङ जिल्लामा पनि दुर्घटनाको तथ्याङ्क बढेको बताए । उनले भने, ‘लुम्बिनी प्रदेशसहित दाङ जिल्लामा भइरहेको दुर्घटनालाई कसरी न्यूनीकरण गर्न सकिन्छ ? त्योबारेमा सरकारले सोँच्न सकेन भने दुर्घटना बढेर जानेछ । सडक संरचनाका कारण दुर्घटना बढीरहेको छ । सवारी साधनको चाप बढेको छ । घोराही–तुलसीपुर सडकमा दुर्घटना बढेको छ । सडक समयमा नबनेका कारण दुर्घटना बढेको छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया