१ अर्बको ऋण ५ अर्ब तिर्नुपर्छ, कांग्रेसकाे ०४८ साल आर्थिक नीति गोल्डेन युग : महालक्ष्मी उपाध्याय
काठमाडौं । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले ऋण र अनुदान लिएकोमा नेपालमा त्यसको के के उपलब्धी भयो भनेर प्रश्न गरेकी छिन् ।
वबुधबार वीपीनगर, ललितपुरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उपाध्यायले भनिन्, ‘उपलब्धी धेरै भएको छ । हाम्रो व्यवस्थापन, हाम्रो कार्यान्वयन गर्न नसकेका पाटो पनि हामीले हेर्नुपर्छ ।’
‘अहिलेसम्म धेरै परियोजनाहरू किन अलपत्र परिरहेका छन् ? ५ वर्षको योजना २५ वर्ष किन लाग्यो ? ३० वर्ष किन लाग्यो भन्ने पनि प्रश्न उठेको थियो ।’, उनले प्रश्न गर्दै भनेकी छिन्, ‘अनुदान भन्ने कुरा स–शर्त र निःशर्त हुन्छ । कुनै पनि कुरा निःशर्त हुँदैन ।’
उनले भनिन्, ‘हामीले प्राप्त गरेका अनुदानहरू कतिपय ठाउँमा हामीले जिम्मेवारी पूरा नगर्दा त्यो अलपत्र परेको छ । नेपाललाई दिएको छ । नेपालले प्राप्त गरेको छ । तर, त्यसको आउटकम रिजल्ट हामीले प्राप्त गरेका छैनौँ । यसमा पनि कांग्रेसले एउटा अवधारणा बनाएर जानुपर्छ ।’
उपाध्यायले ०४८ सालको कांग्रेसको अर्थनीतिले नेपाल आज पनि बाँची रहेको बताएकी छिन् । नेपालको अस्थिर राजनीति, १२ वर्षको सशस्त्र द्वन्द्वले आर्थिक अवस्थालाई समस्या बनाएको उनले बताएकी छिन् ।
‘हिजो हामीले ऋण लियौँ । ५ वर्षको परियोजना थियो । अब ३० वर्ष पुगेको छ । ऋण पनि थपिदै थपिदै १ अर्बको ऋण ५ अर्ब तिर्नुपर्ने बाध्यात्मक परिस्थिति आएको छ’, सह–महामन्त्री उपाध्यायले भनिन्, ‘त्यो विषयमा पनि हाम्रो रणनीति र हाम्रो पोलिसी के हुनुपर्छ ? कांग्रेसले ०४८ सालमा गरेको आर्थिक नीतिले आज पनि हामी भन्छौँ । त्यो बेला गोल्डेन युग थियो ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया