यसरी आउँदै छ कांग्रेसको उत्सव, चार उपसमिति बने, फजुल खर्च रोकिने

काठमाडौं । नेपाली कांग्रेसले १२औँ महाधिवेशन अवधिभर बिहान, बेलुकाको खाना, खाजा र आवाससहित सबै खर्च व्यहोरेको थियो । त्यस बेला ठूलो आर्थिक भार थपिएको थियो ।

आर्थिक भार धेरै परेपछि कांग्रेसले मंसिरमा हुने महासमिति बैठकमा एक छाक मात्र खाना दिने भएको छ । खर्च कटौती गर्ने अभियानस्वरूप महासमिति बैठकमा आवास नदिने र बिहानको एक छाक मात्र खाना खुवाउने निर्णय कांग्रेसले गरेको छ ।

स्थानीय तयारी समितिका सदस्य भक्तपुर जिल्लाका सभापति दुर्लभ थापाले सोमबारको बैठकले महासमिति बैठकमा बिहानको खाना र दिउँसोको खाजा मात्र पार्टीले खुवाउने र बेलुकाको खाना र बस्ने व्यवस्था महासमिति सदस्य आफैँले मिलाउनुपर्ने जानकारी दिए ।

महासमितिमा देशभरबाट झन्डै एक हजार चार सय प्रतिनिधि सहभागी हुन्छन् । ५ देखि ९ मंसिरसम्म भृकुटीमण्डपमा हुने महासमिति बैठक कांग्रेसमा महाधिवेशनपछिको सबैभन्दा ठूलो कार्यक्रम हो । महासमितिले नेतृत्व चयनबाहेकका महाधिवेशनले गर्ने सम्पूर्ण काम गर्न सक्छ ।

महासमिति तयारीका लागि काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँको नेतृत्वमा बसेको स्थानीय तयारी समितिको समितिको बैठकले चारवटा उपसभापति गठन गरेको छ ।

भक्तपुर सचिव उद्धव सिलवालको नेतृत्वमा भोजन व्यवस्थापन समिति, काठमाडौंका कोषाध्यक्ष गोविन्द पुडासैनीको संयोजकत्वमा मञ्च व्यवस्थापन तथा प्रचार–प्रसार समिति, ललितपुरका सचिव भीमसेन घिमिरेको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति गठन गरिएको छ ।

त्यस्तै, स्थानीय व्यवस्थापन समितिको सचिवालयको संयोजकमा भक्तपुरका सचिव निशान ढुंगेललाई चयन गरिएको छ ।

यी सबै समितिमा संयोजक रहेकाबाहेक अर्को दुई जिल्लाका सोही पदका पदाधिकारीहरूलाई उपसंयोजक तोकिएको छ । समितिहरूले अब आवश्यक तयारीलाई जिल्लाहरूको संयोजनका लागि अघि बढाउनेछन् ।

Published : Tuesday, 2018 October 30, 7:36 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया