कांग्रेसले कम्युनिस्ट सरकारको पर्दाफास गर्ने, विज्ञहरूको सुझावले दियो उर्जा

काठमाडौं । नेपाली कांग्रेसलाई विभिन्न क्षेत्रका विज्ञले कम्युनिस्ट सरकारले गरेका जथाभावी निर्णयको विरोध गर्न सुझाव दिएका छन् ।

उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित राजनीतिक प्रतिवेदन तयारी समितिले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित विभिन्न क्षेत्रका विज्ञलाई बोलाएर बुधबार सुझाब मागेको हो ।

सुझाव लिने क्रममा विज्ञहरूले सरकारका गलत कुराको विरोध गर्न स्पष्ट खाका राजनीतिक प्रतिवेदनमा उल्लेख गर्न सुझाब दिएका हुन् ।

सरकार संघीयतामा स्पष्ट नभएको, लोकतान्त्रिक मूल्य र मान्यतामा गम्भीर नभएको, शिक्षा, स्वास्थ्य, औद्योगिक विकासमा हस्तक्षेत्र गरिरहेको तर्क गर्दै विज्ञहरूले त्यस्ता विषयमा आमनागरिकलाई जानकारी दिने र सरकारलाई दवाव दिने रणनीतिक कार्यक्रम ल्याउन कांग्रेसलाई सुझाव दिए ।

विज्ञहरूले केन्द्र र प्रदेश सरकारको सम्बन्ध, संघीयताका विषयमा पार्टीले लिनुपर्ने स्वामित्व, शान्ति सुरक्षाको अवस्था, न्यायालयमाथि सरकारको हस्तक्षेप, परराष्ट्र सम्बन्धमा सरकारले लिएको नीतिका विषयमा प्रतिवेदन स्पष्ट हुनुपर्ने बताए ।

शिक्षा स्थानीय तहअन्तर्गत लगिएपछि देखिएका अप्ठ्यारा, कर्मचारीको मनलाग्दी सरुवालगायतको पर्दाफास हुनेगरी कार्यक्रम अघि सार्न पनि विज्ञहरूले सुझाब दिएका छन् ।

छलफलमा पूर्वमुख्यसचिव सोमलाल सुवेदी, योजना आयोगका पूर्वउपाध्यक्ष डा.स्वर्णिम वाग्ले, कानूनविद् राधेश्याम अधिकारी, लोकतन्त्रवादी प्राध्यापक, चिकित्सक, अधिवक्ता, इन्जिनियरहरूको उपस्थिति थियो ।

विज्ञहरूका सुझाबपछि सभापति शेरबहादुर देउवाले लोकतन्त्रको विरुद्धमा हुने कुनै पनि क्रियाकलाप पार्टीका लागि मान्य नहुने बताए ।

उनले कम्युनिस्ट सरकारले गरेका लोकतन्त्रविरोधी गतिविधि समेटेर राजनीतिक प्रतिवेदन तयार पार्ने बताए । देउवाले भने, ‘केन्द्र र प्रदेश सरकारबीचको द्वन्द्व, न्यायालयमाथिको हस्तक्षेप, शान्ति सुरक्षाको खस्कदो अवस्था र परराष्ट्र नीतिका विषयमा प्रतिवेदनमा दमदार रूपमा उल्लेख हुन्छ ।’

सभापति देउवाले सरकारले गर्ने राम्रा काममा साथ दिन र नराम्रा कामको भन्डाफोर गर्न कांग्रेस तयार रहेको बताए ।

Published : Thursday, 2018 November 1, 7:51 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया