‘नेकपा’का वडाध्यक्षलाई चारतारे झण्डा मन परेपछि…

जाजरकोट । जाजरकोट जिल्लामा तत्कालीन एकीकृत (माओवादी केन्द्र)बाट वडाध्यक्षमा विजयी भएका अमरबहादुर शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कुशे गाउँपालिका–६ का वडाध्यक्ष बुधवार नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । कुशे गाउँपालिका–६ को घरंगामा आयोजित आमसभामा वडाध्यक्ष शाहीले आफ्नो माउ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेर कांग्रसको सदस्यता लिएका हुन् । वडाध्यक्ष शाहीलाई नेपाली कांग्रेसका युवा नेता उदयशम्शेर राणाले कांग्रेसको सदस्यता प्रदान गरेका हुन् ।

आमसभालाई सम्वोधन राणाले कम्युनिस्टहरू जनतालाई राहत दिने भन्दा पनि दुःख दिने प्रवृत्तिबाट सक्रिय हुने गरेको आरोप लगाए । ‘कम्युनिस्टहरूले जनतालाई झुठ बोलेर दुःख दिन्छन् । मीठा कुरा गर्छन् । काम गर्दैनन्’, उनले भने, ‘कांग्रेसले बोलीमा भन्दा पनि व्यवहारमा काम गरेर जनतालाई देखाउन चाहन्छ ।’

नेता राणाले नेकपा परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका वडाध्यक्ष शाहीसहितको सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना दिएका थिए । कांग्रेसको सदस्यता लिएपछि वडाध्यक्ष शाहीले कांग्रेसको सिद्धान्त कम्युनिस्टहरूको भन्दा धेरै राम्रो लागेको बताए । उनले कांग्रेसको चारतारे झण्डाभित्र रहेर आफूलाई इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

नेकपा परित्याग गरेर कांग्रेस प्रवेश गर्नेमा वडाध्यक्ष शाहीका साथै वडासदस्यहरू सहित करीव १ सय जनाले सदस्यता लिएको जाजरकोट कांग्रेसले जनाएको छ ।

जनताको मुक्ति र देश परिवर्तनको नारा दिएर विगत १० वर्षे जनयुद्ध लडेको पार्टी तथा दुई तिहाई बहुमतको सरकारले जनताका लागि कुनै काम गर्न नसकेको उनीहरूको आरोप थियो ।

वडाध्यक्ष शाहीले जनताले अनुभूति गर्ने कुनै पनि काम हुन नसकेको आरोप लगाउँदै आफूलाई कांग्रेसको चारतारे मन परेको बताए । चारतारे झण्डाभित्र गोलबन्द हुँदै कांग्रेसको सिद्धान्त राम्रो लागेको समेत उनीहरूले उल्लेख गरेका थिए ।

Published : Thursday, 2018 November 1, 11:18 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया