घर–घरमा पुग्यो कांग्रेसको निम्तो, चियापानमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार हुन लागेको चियापान कार्यक्रममा सहभागी भएर शुभकामना आदान प्रदान गर्न आग्रह गरेका छन् ।

कांग्रेस मुख्यालय सानेपाबाट बिहीबार जारी भएको चियापानको निमन्त्रणामा कात्तिक १६ गते शुक्रबार हुन लागेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन देउवाले आग्रह गरेका हुन् ।

वीपी कोइरालाले शुरुवात गरेको चियापान कार्यक्रमलाई कांग्रेसले मात्रै नभई कम्युनिस्टहरूले पनि अनुसरण गर्दै आएका छन् ।

नेपाली कांग्रेसले दशैँ, तिहार, नेपाल सम्वत, छठसहितका पर्वको अवसरमा शुभकामना आदान प्रदानका लागि चियापान कार्यक्रम राखेको छ ।

ललितपुरस्थित पार्टी मुख्यालय सानेपामा शुक्रबार अपरान्ह १ बजेदेखि ५ बजेसम्म चियापानको कार्यक्रम राखिएको छ ।

कांग्रेसले यस पटक प्रत्येक जिल्लामा चियापान कार्यक्रमको आयोजना गर्दै छ । केन्द्रमा भने पार्टी मुख्यालय सानेपामा कार्यक्रम हुँदैछ ।

चियापान कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको कांग्रेसले जनाएको छ । चियापानमा कांग्रेसका नेता तथा कार्यकर्ताका साथै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मजदुरदेखि कुटनीतिकलगायत सबै तहतप्कालाई निमन्त्रणा गरिएको छ ।

चियापान कार्यक्रममा नेविसंघ, नेपाल तरुण दलसहितका भातृसंगठनहरूले स्वयं सेवकको काम गर्नेछन् ।

Published : Thursday, 2018 November 1, 12:14 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया