संघीयतालाई कतिपय मान्छेले स्वीकारेका छैनन्, संघीयता फर्किने कुरा छैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संघीयताको नाममा अरुको नक्कल गर्न आवश्यक नरहेको बताएका छन् ।
सोमबार वीपीनगर, ललितपुरस्थित कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले संघीयताको नक्कल गर्नेभन्दैमा जे पनि नक्कल गर्न नहुने बताए ।
सभापति देउवाले भने, ‘भारतमा उत्तरप्रदेशको जनसंख्या कति छ ? नेपालको जनसंख्या जति छ । उत्तर प्रदेशको जनसंख्या हेर्ने हो भने नेपालको जनसंख्या केही पनि छैन । भूगोलमा पनि उसको बढि हुन सक्छ, हाम्रो भन्दा पनि ।’
‘त्यसैले हामीले नक्कल गर्नुपर्ने पर्ला । तर, नक्कल गर्ने भन्दैमा जे पनि कुरा पनि हुँदैन’, सभापति देउवाले भनेका छन् ।
उनले संघीयताबाट पछाडि फर्किने अवस्था नरहेको बताएका छन् । ‘हामी संघीयतामा गइसकेका छौँ । मन परे पनि नपरे पनि । के गर्ने ? संघीयतालाई अझै प्रभावकारिता बनाउने । अझै यसलाई एकाउन्टेबल बनाउने कुरा आवश्यक छ’, देउवाले भने ।
उनले भने, ‘संघीयतालाई अझै कतिपय मान्छेले स्वीकार गरेका छैनन् । कतिले मन नपराइ नपराइ स्वीकार गरेका छन् । कतिपयले हृदयदेखि स्वीकार गरेका छन् । संघीयता फर्किने कुरा छैन ।’
उनले भने, ‘संघीयतालाई जनताप्रति अझै उत्तरदायी बनाउनु पर्छ । सुख, दुखमा साथ दिने र जनतालाई सहयोग गर्ने संघीयता बनाउनुपर्छ । तुरुन्त बन्छ भन्ने छैन । समय लाग्छ । पालिका छ । जिल्ला समन्वय समिति छ । प्रदेश छ । प्रदेशको आफ्नो भूमिका छ । प्रदेशले आफ्नो अधिकार खोजी रहेको छ । संघको आफ्नो अधिकार छ ।’
‘सबै पार्टीका साथीहरू बसेर, सबैको चित्त नबुझ्न सक्छ । सबैलाई हिमालदेखि तराईसम्म, पूर्वको मेचीदेखि महाकालीसम्मका सम्पूर्ण नेपालीहरूको प्रतिनिधित्व हुने गरि जातीय, आदिवासी, जनजाति, मधेशी छन् । दलित छन् । थारु छन् । धेरै जनजाति छन् । त्यसलाई समन्वय गर्नु आवस्यक छ ।’
‘अधिकार माग्ने स्वभाविक हो । अधिकार दिनुपर्छ । तर, देशको आर्थिक अवस्थालाई ध्यान दिएर काम गर्नुपर्छ । आज नभए पनि भोलिका दिनमा सबैका अधिकार पूरा गर्न लाग्ने छौँ । देशको एकतालाई नखलबलिने गरि काम गर्नुपर्छ । ध्यान दिनुपर्छ’, सभापति देउवाले भने ।
सभापति देउवाले संघीयताका विषयमा उठेका मागका विषयमा कांग्रेसको केन्द्रीय कार्यसमितिमा छलफल हुने बताए ।
‘हाम्रो केन्द्रीय समिति धेरै ठूलो छ । केन्द्रीय समितिमा व्यापक धारणा राख्न सक्नु हुन्छ । कुरा उठेका छन् । भोलि पनि उठ्छन् । हामीले छिटै केन्द्रीय समितिको बैठक पनि बोलाउँ छौँ । बोलाएर यहाँ उठेका कुरा उठाउँछौँ’, उनले भने ।
सभापति देउवाले अहिलेको संविधानमा रहेको निर्वाचन प्रणालीले बहुमत आउन गाह्रो रहेको बताए । उनले बहुमत आउँदैन भन्दैमा संगठन निर्माणको काममा निष्क्रीय हुन नहुने बताए ।
उनले भने, ‘हाम्रो सय दिने कार्यक्रम भएको छ । महत्वपूर्ण काम भएको छ । हाम्रो पार्टीका कार्यकर्तामा ठूलो उत्साह आएको छ । उत्साहलाई मर्न नदिएर काम गर्नुछ ।’
‘कांग्रेस सबैभन्दा ठूलो पार्टी छ । भविष्यमा पनि ठूलो हुनेछ । अहिलेको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन सम्भावना छैन । बहुमत आउन गाह्रो छ भनेर काम गर्न छोड्नु हुँदैन । हाम्रो पार्टीमा जनताको समर्थन छ । त्यसलाई झन् बढाउन लाग्नु हुनेछ’, सभापति देउवाले भने ।
बिचार/ब्लग

स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया