एमालेका सांसद श्रेष्ठविरुद्ध पार्टी मुख्यालयमा ठगीको उजुरी, महासचिव पोखरेलसँग राखे गुनासो

काठमाडौं । एमालेका स्थायी समिति सदस्य तथा मधेश प्रदेश ईञ्चार्ज सांसद लीलानाथ श्रेष्ठविरुद्ध उजुरी परेको छ ।

एमालेका सचिव एवम् सांसद रघुवीर महासेठसँग काठमाडौंमा आएका सिरहा एमालेका नेताहरूले सांसद श्रेष्ठविरुद्ध एमाले पार्टी कार्यालयमा उजुरी दिएको उच्च स्रोतले जनाएको छ । एमालेका नेता महासेठसँग सिरहाका नेताहरू काठमाडौंमा सँगसँगै देखिएका छन् ।

हुन त ईञ्चार्ज श्रेष्ठलाई सिरहामा रहेको मारुती सिमेन्ट उद्योग, शारदा डिस्ट्रलरी उद्योग लगायतका अबैध कार्यहरूलाई ढाकछोप गरेवापत मोटो रकम कमिशनको रुपमा लिएको आरोप पनि छ ।

एमाले मधेश प्रदेशका ईञ्चार्ज श्रेष्ठले स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा उम्मेदवारहरूबाट टिकट दिलाए वापत मोटो रकम असुलेको आरोप छ । रकम बुझाएर पनि टिकट नपाएका नेताहरूले रकम फिर्ता नभएपछि एमाले पार्टी कार्यालय बालकुमारीमा उजुरी दिएको बुझिएको छ ।

सिरहाका एमालेका पीडित नेताहरूले महासचिव शंकर पोखरेल र एमालेका प्रवक्ता राजेन्द्र गौतमसँग भेट गरि ईञ्चार्ज श्रेष्ठको अन्यायका विषयमा जानकारी गराएका छन् । महासचिव पोखरेल र प्रवक्ता गौतमसँगको भेटका क्रममा एमालेका सचिव रघुवीर महासेठ समेतको उपस्थिति रहेको थियो ।

मधेश प्रदेश ईञ्चार्ज श्रेष्ठले कुन–कुन उम्मेदवारबाट कति–कति रकम असुलेका हुन् ? त्यसको पूरै विवरण बुझाएको एक नेताले बताए । श्रेष्ठविरुद्ध उजुरी परेपछि एमालेले मसिनो तरिकाले छानविन गर्ने आश्वासन दिएको स्रोतले जनाएको छ ।

उता, एमालेको सिरहाका पार्टी कार्यकर्ता, शुभेच्छुक, व्यापारी, ठेकेदार र मजदुरहरू समेत रकम चुनावताका ईञ्चार्ज श्रेष्ठले फिर्ता गर्ने सर्तमा सापटी भनेर लिएका थिए । रकम फिर्ता गर्न श्रेष्ठले आनाकानी गरेपछि पीडितहरू संगठित भएका छन् । सांसद श्रेष्ठविरुद्ध गोलबजारमा भएको पीडितहरूको गोप्य भेलामा आन्दोलन गर्ने विषयमा छलफल भएको बुझिएको छ ।

कसकोे कति रकम ? कुन मितिमा र कुन सर्तमा लिएको हो ? पीडितहरूको नाम, फोन नम्बर र हस्ताक्षर संकलन गरिएको एक नेताले बताएका छन् । श्रेष्ठलाई उद्यारो सामान दिने व्यापारीहरू पनि रहेका छन् । काम लगाएर मजदुरी नदिएका मजदुरहरूको नाम पनि सूचीमा समावेश गरिएको छ ।

भेलामा संकलित सूचीसहितको नाम लिएर पीडितहरू प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओलीसँग भेटका लागि गृहकार्य गरेका छन् । ओलीले समय दिनेवित्तिकै सांसद श्रेष्ठबाट पीडित समूह बालुवाटार पुगेर भेट्ने तयारी गरेको स्रोतले जनाएको छ ।

एमालेका सांसद श्रेष्ठले माघ महिनामा गोलबजारका एक स्थानीय पेय पदार्थका व्यापारीसँग ५ लाख सापटी लिएको आरोप छ । सो रकम फिर्ता माग्दा पनि श्रेष्ठले नदिएको पीडितले स्थानीय पत्रकारहरूलाई बताएका छन् । ११ वर्षदेखि रकम पाउन बाँकी रहेका पीडितहरू लगायतले सांसद श्रेष्ठको निवास अगाडि लालटिन बालेर आन्दोलनको तयारी गरेको बुझिएको छ ।

Published : Monday, 2025 March 17, 8:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया