कहिले हुन्छ अब नेविसंघको महाधिवेशन ?

काठमाडौं । नेपाल विद्यार्थी संघको महाधिवेशन नहुने भएपछि अन्योल बढेको छ । कांग्रेसले विधान पारित गरेर नदिएका कारण कांग्रेसको भ्रातृसंगठन नेविसंघले घोषणा गरेको मितिमा महाधिवेशन हुन नसकेको हो ।

नेविसंघको महाधिवेशन कात्तिक १६ देखि हुने भनिएको थियो । महाधिवेशनबारे पार्टी र नेविसंघ दुवैले औपचारिक रूपमा केही बोलेका छैनन् ।

भदौ पहिलो साता पार्टीको निर्देशक समितिले तीन महिना म्याद थप्दै महाधिवेशन गर्न निर्देशन दिएको छ । विधान र महाधिवेशन कार्यतालिका सँगै सार्वजनिक गरेको संघले पछि त्यसलाई अघि बढाउन सकेन ।

कांग्रेसले विधान पारित नगर्दै ३२ वर्षे उमेरहद लागू गरेपछि शीर्ष नेताहरूबीच विवाद भएको छ । असोज २१ मा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा नेविसंघको निर्देशक समिति संयोजकसमेत रहेका सहमहामन्त्री डा.प्रकाशशरण महतले उमेरहदको प्रस्ताव लगेका थिए ।

कांग्रेसले उमेरहदसम्बन्धी गरेको निर्णयप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसद सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले नोट अफ डिसेन्ट लेखेका थिए । कांग्रेसभित्र विवाद पुनः चुलिएको छ । जसकारण पार्टीको केन्द्रीय समिति बैठक पनि अनिश्चित बनेको छ।

नेविसंघ अध्यक्ष नैनसिंह महर पनि पार्टीको आगामी बैठकले ठोस निर्णय गर्ने बताउँछन् । कांग्रेसले चाँडै विधान ल्याए पुनः महाधिवेशनकै बाटोमा नेविसंघ अघि बढने उनको भनाइ छ ।

कात्तिक १६ देखि १८ सम्म काठमाडौंमा महाधिवेशन गर्ने कार्यतालिकाका लागि नेविसंघले असोज ७ देखि मावि तथा क्याम्पसको अधिवेशन सुरु हुने कार्यतालिका थियो ।

असोज ७ देखि नै हुने भनिएका तल्लो तहका अधिवेशनका लागि केन्द्रीय समितिले तोकेका केन्द्रीय प्रतिनिधि नगएपछि नेविसंघको महाधिवेशन अन्योलमा परेको थियो ।

Published : Friday, 2018 November 2, 12:17 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया