२५ करोडका मालिक माओवादी निकटका व्यक्ति, सुन-रक्तचन्दन-हुण्डीमा पनि नाम मुछियो

काठमाडौं । टोखामा भेटिएको २५ करोड बराबरको विदेशी रकमको मालिक सिन्धुपाल्चोकका ५३ वर्षीय नारायण पौडेल रहेको खुलेको छ ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेका अनुसार २५ करोडको मालिक भोटेकोशीका–४ का पौडेल रहेको खुलेको छ ।
ट्रकको बनोटमा फल्स बटम बनाएर लुकाएर राखिएको अवस्थामा भेटिएको युरो र अमेरिकी डलरसहित चालक कुसान लामालाई प्रहरीले पक्राउ गरेको थियो ।
काठमाडौंबाट चीनको नाकातर्फ जाँदै गरेको अवस्थामा २५ करोड रुपियाँसहित लामालाई प्रहरीले चैत्र ४ गते पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा कुसान लामासँग निरन्तर फोन समर्पकमा रहेका नारायण पौडेलसँगको कनेक्सन पत्ता लगाएको हो । राजस्व विभागका महानिर्देशक घिमिरेले पौडेल विषयमा अनुसन्धान गरीरहेको थियो । पौडेलको कनेक्सन पुष्टि हुने प्रमाण भेटिएपछि राजस्वको टोलीले पौडेलको टोखामा रहेको घरमा छापा मारेको थियो । घरमा एक कामदारको जिम्मा लगाएर पौडेल फरार रहँदै आएका छन् ।
पौडेल यसअघि पनि विभिन्न सुन तस्करीमा मुछिएका पात्र हुन् । प्रहरी हिरासतमा रहेका लामाले पौडेलसँगको कुराकानी र कारोवार स्वीकार गरेका छन् ।
पौडेलको बाहिरी रूपमा देखिने व्यापार व्यवसाय भने केही छैन । उनी एक छोरासँग टोखामा बस्दै आएका छन् । पौडेलकी श्रीमतीको केही समयअघि निधन भएको थियो । रकम कहाँबाट ल्याए, केका लागि ल्याएका थिए खुलेको छैन । पौडेल यसअघि पनि रक्तचन्दनदेखि अवैध सुन तस्करी र हुन्डीमा मुछिएका व्यक्ति हुन् ।

पौडेललाई पक्राउ गर्न आइतबार नै अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । कोदारी राजमार्गको झिर्पु गाउँका नारायणलाई चिन्ने स्थानीयहरू उनी २०५० सालदेखि नै ढुवानी व्यवसायमा लागेको र यही काम गर्दा गर्दै उनी तस्करी धन्दामा लागेको बताउँछन् ।
नारायणको झिर्पु गाउँबाट चीन छिर्ने तातोपानी नाका १२ किलोमिटरको हाराहारीमा पर्छ । उनलाई नाकाको छेवैमा घर भएका कारण पनि उनलाई सीमावारपारको काममा लाग्न सजिलो भएको र यही काममा लाग्दा लाग्दै अवैध धन्दातिर लागेको स्थानीय बताउँछन् ।
पौडेलका कान्छा भाइ राजकुमार पौडेल पनि यसअघि सुन तस्करीमा मुछिएका थिए । राजकुमार २०७४ सालमा भोटेकोशी गाउँपालिका प्रमुख माओवादीबाट स्थानीय तहको निर्वाचमा उठेर निर्वाचित भएका थिए । २०७९ सालमा पनि उनी माओवादीबाटै उम्मेदवार बने पनि हार बेहोरे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतका अनुसार राजकुमार १५ किलो अवैध सुन तस्करीमा मुछिएका थिए । सामाखुशीबाट ग्रान्डी हस्पिटल जाने बाटोमा पर्ने एक घरबाट बरामद भएको सुनमा राजकुमार मुछिएका थिए ।
नारायणका जेठा दाइ ध्रुव भने २०५४ सालमै गाविस अध्यक्षमा निर्वाचित भएका थिए । उनका माइला दाइ बच्चु पौडेल भने यसअघि हिमालय व्यापार संघको पूर्वअध्यक्ष थिए भने उनी अहिले हाइड्रो व्यवसायमा संग्लनमा छन् । यसरी हेर्दा नारायणको सिंगो परिवार नै राजनीतिक र आर्थिक रूपमा बलियो देखिन्छ ।
२०५९ सालमा पनि पौडेल हङकङमा अवैध रकम तस्करीको आरोपमा पक्राउ परेका थिए । २०८० असारको पहिलो साता भने उनी प्रहरी वृत्त महाराजगन्जबाट पौडेललाई जुवाको खालबाट समेत पक्राउ गरेको थियो ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया