राज्य व्यवस्थाले पूर्वराजाका मतियार र समर्थकहरूको हिंसाबारे गृहमन्त्रीसँग बयान लिने

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकले चैत्र १५ गते गरेको हिंसात्मक प्रदर्शनका विषयमा जानकारी लिन गृहमन्त्री रमेश लेखकलाई बोलाएको छ ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले गृहमन्त्री लेखकलाई जानकारी माग गर्न बोलाउने निर्णय गरेको सभापति रामहरि खतिवडाले बताए । ज्ञानेन्द्र शाहका मतियारहरूको प्रदर्शनका क्रममा हिंसा, लुटपाट, तोडफोड तथा आगजनी भएको थियो ।

सांसदहरूले पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिबारे सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूले गृहमन्त्रीको जवाफ माग गरेका थिए ।

हिंसात्मक प्रदर्शनबारे जवाफ दिन गृहमन्त्री लेखकलाई शुक्रबारको समिति बैठकमा उपस्थित हुने निर्देशन दिएको समितिका सभापति खतिवडाले बताए ।
नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने घटनामा सरकारको गम्भीर त्रुटि रहेको बताए । उनले गृहमन्त्रीले नै जवाफ दिनुपर्ने बताए ।

प्रदर्शनलाई नियन्त्रण गर्न सक्ने स्थिति हुँदाहुँदै पनि सरकारले सही कदम चाल्न नसक्दा स्थिति नियन्त्रणबाहिर गएको सांसद पाण्डेले बताएका छन् ।

सांसद पाण्डेले आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलाई समेत सरकारले नै भगाएको आशयको अभिव्यक्ति दिएका छन् ।

नेपाली कांग्रेस सांसद विश्वप्रकाश शर्माले तीनकुने घटनाको छानबिनका लागि सरकारले न्यायिक छानविन समिति बनाउनुपर्ने बताएका छन् । उनले तीनकुने घटनामा सरकारको बुझाइ समिति समक्ष आउनुपर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद बुद्धिमान तामाङले १५ गतेको घटनामा एकपक्षीय रुपमा राजावादीप्रति खनिएको भन्दै निष्पक्ष न्यायिक छानविन हुनुपर्ने माग गरेका छन् ।

तामाङले राप्रपाका नेताहरू समेत उक्त प्रदर्शनमा जाने तयारी गरेपनि दुर्गा प्रसाईंको ठूलो फोटो देखेपछि नगएको बताए ।

सांसदहरूले राज्य व्यवस्था समितिको क्षेत्राधिकारभित्र पर्ने चैत्र १५ गतेको घटनालाई प्राथमिकतामा नराखेको भनेर कुरा उठाएका छन् ।

Published : Wednesday, 2025 April 2, 9:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया