तीनकुने हिंसामा संलग्न थप ७ जना मतियारहरू पक्राउ

काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन, तोडफोड, आगजनी र लुटपाटका घटनामा थप ७ जना पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूलाई बुधबार काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरिएको विज्ञप्तिमार्फत जनाएको छ । राज्यविरूद्धको कसुर र संगठित अपराधसम्बन्धीको कसुरमा १ र उपद्रव कसूरमा ६ जना गरी ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले बताए ।

राज्यविरूद्धको कसूरमा रूपन्देशी देवदह नगरपालिका–९ घर भएका ४७ वर्षीय प्रेमथापा मगर पक्राउ परेका हुन् ।

अपराधिक उपद्रव कसूरमा झापा गौरादह नगरपालिका–१ घर भएका २१ वर्षीय समिर मगर, रामेछाप सुनापाति गाउँपालिका–१ का २२ वर्षीय सुरेश गौतम, ताप्लेजुङ फुलुङ नगरपालिका–३ का २३ वर्षीय सुशील बराल पक्राउ परेका छन् ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–७ घर भएका २७ वर्षीय रमेश राई, अछामको पंचदेवल नगरपालिकाका २० वर्षीय गोकर्ण शाही र संखुसभाको पाँचखपन नगरपालिका–२ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ३९ वर्षीय मुकुन्द दहाल पक्राउ परेका छन् ।

उनीहरूमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको छ ।

मंगलबार पनि तीनकुने घटनामा प्रहरीले १८ जनालाई पक्राउ गरेको थियो । पक्राउ गरिएको ४१ जना समेत गरेर अहिलेसम्म ६६ जना पक्राउ परेको प्रहरीको तथ्याङ्क छ ।

Published : Wednesday, 2025 April 2, 9:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया