शान्ति, सुरक्षा र दिगो विकास सुदृढ पार्न सबै मञ्चहरूमा सक्रिय संलग्न छौँ : डा.राणा

बैंकक । परराष्ट्रमन्त्री डा.आरजु राणाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास, बिमस्टेक क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावनाका साथ अघि बढ्नुपर्ने बताएकी छिन् ।

बिहीबार थाइल्याण्डको राजधानी बैंककमा आयोजित छैठौँ बिमस्टेक समिट अन्तर्गत २०औँ मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै डा.राणाले बिमस्टेकले बंगालको खाडी क्षेत्रका नागरिकको साझा आकांक्षाको प्रतिनिधित्व गर्ने भएकाले एकता र सामूहिक सहकार्य आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘बिमस्टेक दक्षिण एसिया र दक्षिणपूर्व एशियाली गतिशील क्षेत्रको प्रतिनिधित्व गर्ने चम्किलो इन्द्रेणी हो र यसका रङ्गले यस क्षेत्रको समृद्ध सभ्यता, संस्कृति, इतिहास, पारिस्थितिक विविधता बोकेको छ ।’

‘यस क्षेत्रका नागरिकको आर्थिक समृद्धिको सम्भावनालाई थप उजागर गर्ने प्रयत्न बिमस्टेकले गर्नुपर्दछ’, डा.राणाले भनेकी छिन् ।

अन्तर्राष्ट्रिय समुदायको जिम्मेवार सदस्यका हैसियतले नेपालले संयुक्त राष्ट्रसंघको नेतृत्वमा शान्तिपूर्ण, समतामूलक र समावेशी रुपमा क्षेत्रीयता र बहुपक्षीयतालाई महत्व दिँदै आएको परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन्, ‘हामी शान्ति, सुरक्षा र दिगो विकासलाई सुदृढ पार्न क्षेत्रीय र विश्वव्यापी सबै मञ्चहरूमा सक्रिय रूपमा संलग्न छौँ । संयुक्त राष्ट्रसंघमा सबैभन्दा धेरै शान्ति सैन्य पठाउने देशका रुपमा पनि हामी गर्व गर्दछौँ ।’

उनले सन् २००४ मा सदस्य भएदेखि नै नेपाल बिमस्टेकको बडापत्र, सिद्धान्त र उद्देश्यप्रति प्रतिबद्ध रहेको र क्षेत्रीय समृद्धि, शान्ति र एकताको भूमिकालाई नेपालले आत्मसात गरेको बताएकी छिन् ।

डा.राणाले बंगालको खाडी क्षेत्र जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, वातावरणीय विनास र प्रदूषणको विनाशकारी प्रभावजस्ता कारणले जोखिममा रहेकाले पूर्वाधार निर्माण, पूर्व चेतावनी प्रणालीमार्फत विपद् रोकथाम तथा स्थानीय समुदायहरूलाई वातावरण संरक्षणमा संलग्न गराउनु अहिलेको अत्यावश्यकता कार्य रहेको बताइन् ।

उनले प्राकृतिक प्रकोप नियन्त्रण र प्रतिरोधमा क्षेत्रीय प्रयासहरूलाई प्रभावकारी बनाउन विपद् व्यवस्थापनसम्बन्धी बिमस्टेक केन्द्र स्थापना गर्ने भारतको प्रस्तावको स्वागत गर्दै डा.राणाले केन्द्रले यी सबै चुनौतीको सामना गर्न एआईको प्रयोगलाई प्राथमिकता दिने बताइन् ।

परराष्ट्रमन्त्री डा.राणाले बंगालको खाडी क्षेत्र र त्यसभन्दा बाहिर समेतको क्षेत्रीय शान्ति, एकता र वातावरणीय दिगोपना प्रवद्र्धनमा बिमस्टेकको भूमिका सदा अग्रणी रहने बताएकी छिन् । उनले बिमस्टेकलाई बलियो साझेदारी मञ्चका रुपमा रूपान्तरण गरी समयानुकुल सशक्त क्षेत्रीय संगठन बनाउन विभिन्न सुझावहरू दिएकी छिन् । यसका लगि सबैभन्दा पहिला क्षेत्रीय एकतासहितको सहकार्यको भावना र राजनीतिक इच्छाशक्ति आवश्यक रहेको बताएकी छिन् ।

बिमस्टेक फ्रि ट्रेड एरियाको सञ्चालन, इपिजी रिपोर्टको कार्यान्वयन, ट्रान्सपोर्ट कनेक्टिभिटीका लागि मास्टर प्लान र आयोजनाहरुको पहिचान तथा क्षेत्रीय केन्द्रहरुको पूर्ण परिचालन बिमस्टेक आवश्यक रहेको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले उपलब्ध स्रोतहरूको उपयोग, व्यापार र पारवहनमा सहजीकरण, ऊर्जा सहयोग तथा व्यापार, पर्यटनको विकास, लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण, एकीकृत डिजिटल सार्वजनिक पूर्वाधार निर्माण लगायतका क्षेत्रमा सदस्य राष्ट्रहरूबीच सहकार्य र समन्वय आवश्यक रहेको बताएकी छिन् ।

डा.राणाले यस क्षेत्रका शैक्षिक संस्थाहरुबीचको सहकार्य, मातृ तथा शिशु एवं मानसिक स्वास्थ्य तथा सरुवा र नसर्ने रोगबिरुद्ध जनचेतना र उपचार तथा जलवायुजन्य जटिलताबाट हुने रोगसँग लड्न सक्ने क्षमताको विकास गर्नुपर्ने सुझाव दिएकी छिन् ।

समृद्ध भविष्य निर्माण गर्न महिला सशक्तिकरणका साथै शासन व्यवस्था, विकास र द्वन्द्व व्यवस्थापनमा महिलाको पूर्ण सहभागिताको सुनिश्चितता हुनुपर्ने डा.राणाले बताएकी छिन् ।

उनले सदस्य राष्ट्रहरूबीचको सहकार्य र जनता–जनताबीचको सम्पर्कका माध्यमबाट संस्कृति र पर्यटनको प्रवर्द्धन, गरिबी निवारण, जलवायुजन्य जटिलताको समाधानका लागि विकास साझेदारहरू र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्य हुनुपर्ने बताएकी छिन् ।

Published : Thursday, 2025 April 3, 11:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया