थाइल्यान्डका व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

बैंकक । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले थाइल्यान्डका व्यवसायीहरूसँग भेटवार्ता गरेका छन् ।

बिहीबार बैंककमा भ्रमण दलमा सहभागी नेपाली व्यवसायी प्रतिनिधिमण्डलसमेत सहभागी भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल लगानीको लागि उर्वर भूमि भएको बताएका छन् । उनले थाई व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले थाई व्यवसायीहरूलाई नेपालमा लगानीमैत्री वातावरण निर्माणको लागि आवश्यक थुप्रै कानूनहरू संशोधन तथा परिमार्जन गरिएकोे बताए ।

सरकारले लगानीको सुरक्षाको प्रत्याभूति दिने प्रधानमन्त्री ओलीले थाई व्यवसायीहरूसँग आग्रह गरेका छन् ।

उनले नेपालमा लगानीका अवसर र सम्भावनाका बारेमा निजी क्षेत्रको धारणा बुझ्न तथा निजी क्षेत्रसँग सहकार्य गरेर नेपालमा लगानी गर्न सकिने बताए ।

भ्रमणदलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा कानूनमा सुधार गर्दै लगानी मैत्री वातावरण निर्माण भएको, विदेशी मुद्रा सञ्चिति राम्रो रहेको र लगानीको लागि सहज वातावरण रहेको बताए ।

उत्पादन पछिको बजारका लागि भारत र चीन जस्ता ठूला जनसंख्या भएका छिमेकी मुलुक रहेकोले नेपालमा लगानी गर्दा थाई व्यवसायीहरूले त्यो सभावनाबाट फाइदा लिन सक्ने उनले बताए ।

ढकालले नेपालमा पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि तथा निर्माणजन्य उद्योगमा सम्भावना रहेको बताएका छन् । ‘नेपाल लगानीको लागि पर्याप्त सम्भावना भएको मुलुक हो’, अध्यक्ष ढकालले भने, ‘पछिल्लो पटक सरकारले गरेका नीतिगत सुधारले बाह्य लगानीलाई आर्कषित गर्ने अवस्था छ ।’

महासंघका अध्यक्ष ढकालले भने, ‘निजी क्षेत्रको तर्फबाट पनि म थाई व्यवसायीहरूलाई लगानीको लागि आग्रह गर्दछु ।’

प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल यहीँ चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहेको छ ।

नेपाल र थाइल्याण्डबीच बुधबार मात्र २ वटा सरकारी र ६ वटा गैरसरकारी गरी ८ ओटा सम्झौतामा हस्ताक्षर भएको छ ।

Published : Thursday, 2025 April 3, 6:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया