टीकापुर नरसंहार जस्तो कारबाहीबाट बच्न ज्ञानेन्द्रका समर्थकद्वारा सरकारमाथि दवाव बनाउँदै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले सरकारविरुद्ध आलोचना र धावा बोल्न थालेका छन् ।

सरकारको सदासयतालाई कमजोरीको रुपमा लिँदै ज्ञानेन्द्र शाहका समर्थकहरूले सरकारमाथि दवाव सिर्जना गर्न खोजेका छन् । कैलालीको टीकापुर नरसंहारका दोषीहरूलाई जस्तै तीनकुने हिंसाका दोषीहरूलाई सरकारले कडाभन्दा कडा कानूनी कारबाही गर्ने संकेत देखाएको छ । सरकारको संकेत देखेपछि तर्सिएका ज्ञानेन्द्र शाहका समर्थकहरू सरकारको आलोचना गर्दै दवाव बनाएर अभियुक्तहरूलाई छुटाउन खोजेका छन् । ज्ञानेन्द्र शाहका समर्थकहरू र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को यो रणनीतिका विषयमा सबैलाई थाहा भइसकेको छ । तीनकुने हिंसाबाट ज्ञानेन्द्र शाहलाई सबैभन्दा ठूलो झट्का लागेको छ ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसा, लुटपाट, डकैती, आगजनी, तोडफोड, कुटपिट लगायतका हर्कतको घटनालाई ढाकछोप गरेर आफ्ना नेता, कार्यकर्ताहरू बचाउन ज्ञानेन्द्र शाहका समर्थकहरू सरकारविरुद्ध उत्रिएका हुन् । तीनकुनेको हिंसाको जिम्मेवारी सरकारले लिनुपर्ने भनेर सार्वजनिक रुपमा बोल्न थालेका छन् । राप्रपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । राप्रपाले सुरक्षा निकायका प्रमुखहरूलाई निलम्बनसम्म गर्न भनेर माग गरेको छ । यो माग गर्नु भनेको आफ्ना अभियुक्त नेता तथा कार्यकर्ताहरूलाई टीकापुर घटनामा जस्तै कारबाही नहोस् भनेर चाहेका छन् ।

तीनकुनेको हिंसा कसरी र किन भएको थियो भन्ने कुरा छर्लङ्ग छ । नवराज सुवेदी र दुर्गा प्रसाईं नेतृत्वको कथित जनआन्दोलन समितिले तीनकुनेमा हजारौं मानिस उतार्ने भनेर घोषणा गरेको थियो । आन्दोलनमा मुस्किलले ४÷५ हजार मात्रै मानिसहरू आएपछि तनाबमा परेका पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले हिंसाको सहारा लिएका थिए । हिंसामा परेर दुई जनाको मृत्यु भएको छ ।

तीनकुने हिंसाका नाइके विवादास्पद मेडिकल माफिया दुर्गा प्रसाईं फरार छन् । पत्रकार सुरेश रजकलाई घरभित्र थुनेर ज्ञानेन्द्र शाहका समर्थकहरूले हत्या गरेको आरोप छ । हत्यामा संलग्न र रजकको भिडियो बनाउनेहरूलाई प्रहरीले कानूनको दायरमा ल्याउन सकेको छैन ।

तीनकुनेको हिंसाको नेतृत्व गरेको अभियोगमा प्रहरीले राष्ट्रिया प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशम्शेर राणा, उपाध्यक्ष रविन्द्र मिश्र लगायतलाई पक्राउ गरेर अनुसन्धानमा राखेको छ । अन्य थुप्रै अभियुक्तहरू पक्राउ परेका छन् ।

कैलालीको टीकापुर घटनाका दोषीलाई जस्तै सरकारले तीनकुने हिंसाका दोषीलाई पनि कानूनअनुसार हदैसम्मको कारबाही गर्ने नीति बनाएको छ । टीकापुर नरसंहारमा रेशम चौधरी लगायत धेरै थारु नेताहरूलाई कैद साजय भएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशनमा भएको तीनकुने हिंसाका दोषीलाई पनि टीकापुर घटनामा जस्तै कारबाही हुने सम्भावना बढेपछि ज्ञानेन्द्र शाहका समर्थक र राप्रपाका नेताहरू तर्सिएर सरकारलाई दवावमा राख्न खोजेका छन् । उनीहरूलाई तीनकुने हिंसामा संग्नहरूलाई छुटाउन सरकारलाई अल्टिमेटम दिनुका साथै सरकारविरुद्ध अभिव्यक्ति दिइरहेका छन् ।

राप्रपा र ज्ञानेन्द्र शाहका समर्थकहरूले तीनकुने हिंसामा सरकारविरुद्ध अभिव्यक्ति दिनु, सरकारको आलोचना गर्नु स्वभाविक छ । तर, नेपाली कांग्रेसका सांसद समेत रहेका विवादास्पद मेडिकल माफिया सुनिल शर्मा पनि ज्ञानेन्द्र शाहको समर्थनमा घुमाउरो भाषामा अभिव्यक्ति दिँदै तीनकुने घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने अभिव्यक्ति दिएका छन् ।

Published : Thursday, 2025 April 3, 8:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया