कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ लोकनाथ पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पर्साको विन्दवासिनी गाउँपालिका–२ घर भएका ६२ वर्षीय लोकनाथ साह तेलीलबाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

सर्वोच्च अदालतको २०६९ कात्तिक २४ गतेको फैसलाले उक्त मुद्दामा सर्वस्व सहित जन्म कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जबाट खटिएको प्रहरीले वीरगंजबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

लोकनाथले पर्साको साविक बहुअर्वाभाठा गाबिस–५ बस्ने ढोडा मुखिया विनलाई जग्गा सम्बन्धी विवादको विषयमा छलफल गर्ने भनि बोलाई २०६४ वैशाख २५ गते गोली प्रहार गरी हत्या गरी फरार भएका थिए ।

सो घटनामा अदालतले उनी उपर उक्त फैसला गरेको थियो । उनी भारतको चम्पारण पिपरियास्थित रामजानकी मन्दिरमा पुजारीको रूपमा १० वर्षदेखि साधुको भेष धारण गरी लुकिछिपी बसेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा पेश गरिएको छ ।

Published : Tuesday, 2025 April 8, 8:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया