तीनकुने हिंसात्मक प्रदर्शनका थप ४ जना मतियारहरू पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले तीनकुने क्षेत्रमा आगजनी, तोडफोड लगायतका हिंसात्मक गतिविधि गर्ने थप चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार ललितपुर महानगरपालिका वडा नं. २७ बस्ने वर्ष ५३ का कमलकुमार विष्टलाई पक्राउ गरिएको छ । विष्टले फेसबुक पेजबाट ‘श्रीलंका, बंगलादेशको मोडलमा अगाडि बढनुपर्छ’ भन्दै उत्तजेक अभिव्यक्ति दिने र फेसबुकमा उत्तेजक कुराहरू लेखेर ट्याग गर्ने गरेका थिए ।

विष्ट चैत १५ गते तीनकुने क्षेत्रमा भएको निजी तथा सार्वजनिक सम्पत्तिमाथि तोडफोड, आगजनी लगायतका आपराधिक कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको छ । उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइ अनुसन्धानका लागि २० दिनको म्याद थप भएको छ ।

त्यसैगरी प्रहरीले रुपन्देहीको बटवल उपमहानगरपालिका वडा नं. ९ मिलन चोक घर भई हाल ललितपुरको हात्तीवनमा बस्दै आएका ३१ वर्षीय शिशिर जि.सी.लाई पनि पक्राउ गरेको छ ।

प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. २ स्थायी घर भएका ६१ वर्षीय डण्डपाणि रेग्मी र सिरहाको मिर्चैया नगरपालिका वडा नं. ६ का ४६ वर्षीय मनोजकुमार सापकोटालाई पनि पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूलाई पनि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइ अनुसन्धानका लागि २० दिनको म्याद लिइएको छ ।

चैत १५ गते पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरू हिंसात्मक प्रदर्शन गरेका थिए । त्यस क्रममा उनीहरूले एकजनालाई जलाइएर हत्या गरेका छन् । एकजनाको झडपमा मृत्यु भएको छ ।

तीनकुने क्षेत्रको हिंसात्मक झडपका कमाण्ड दुर्गा प्रसाईं भने फरार छन् । उनी फरार भए पनि हिंसात्मक प्रदर्शनमा सहभागीहरूलाई प्रहरीले धमाधम पक्राउ गरेर कारबाही अगाडि बढाएको छ ।

Published : Thursday, 2025 April 10, 8:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया