प्रसाईंबारे प्रहरीले दियो आधिकारिक रुपमा विस्तृति जानकारी

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले तीनकुने हिंसात्मक प्रदर्शनका कथित ‘जनकमाण्डर’ दुर्गा प्रसाईंलाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखेको छ ।

शुक्रबार बिहान दुर्गा प्रसाईं र उनका कमाण्डर दीपक खड्कालाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । स्रोतका अनुसार प्रसाईं भारतको असममा लुकेर बसेका थिए । नेपाल प्रहरी र भारतीय प्रहरीबीचको समन्वयमा प्रसाईंलाई भारतीय प्रहरीले झापामा ल्याएर नेपाल प्रहरीलाई बुझाएको थियो ।

झापाको विर्तामोड नगरपालिका वडा नं. ५ स्थायी घर भएका ५४ वर्षीय प्रसाईं र उनका अंगरक्षक झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ३ बस्ने ५१ वर्षीय दीपक खड्कालाई पक्राउ गरिएको सूचना अधिकारी समेत रहेका प्रहरी उपरीक्षक अपीलराज बोहराले जनाएका छन् ।

प्रसाईं र खड्कालाई काठमाडौं जिल्ला अदालतमा शुक्रबार प्रहरीले उपस्थित गराएको छ । अदालतले प्रसाईं र खड्कालाई १२ दिन हिरासतमा राखेर अनुसनधान गर्न अनुमति दिएको छ ।

‘चैत १५ गते राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपालद्वारा दुर्गा प्रसाईको अगुवाईमा काठमाडौंको तीनकुने क्षेत्रमा आयोजित प्रदर्शनका क्रममा निज समेत व्यक्तिहरूले उपस्थित समर्थक एवम् भिडलाई उत्तेजित बनाई संघीय संसद भवन वरिपरी रहेको निषेधित क्षेत्र तोड्नका लागि सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गरी, आफैले चलाएको गाडीले प्रहरीको ज्यान लिने उद्देश्य र मनसायले आक्रमण गर्नुका साथै आम सर्वसाधारणको सुरक्षार्थ सडकमा डिउटीमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल समेतका सुरक्षाकर्मीहरूलाई समेत ढुङ्गा, लाठी, फलामका रड, घरेलु हतियार समेतले प्रहार गरेको’, विज्ञप्तिमा उल्लेख छ ।

‘सुरक्षाकर्मीको हतियार समेत खोसी सुरक्षाकर्मीहरूलाई घाइते बनाई, सर्वसाधारण मानिसहरूको घर, निजी सम्पत्ति, सञ्चार गृहरू रहेको भवन, विभिन्न राजनैतिक दलहरूको कार्यालय तथा नेताको निजी निवास, अस्पताल, प्रहरी कार्यालयहरू, व्यापारिक केन्द्र, नेपाल आयल निगमको अति संवेदनशील, अति प्रज्वलनशील पदार्थ ईन्धन भण्डारण रहेको स्थल, नागरिक उड्डयन प्राधिकरणको कार्यालय र अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी कम्पाउण्ड समेतमा तोडफोड, आगजनी गरी गराई आपराधिक प्रवेश गरी घरमा रहेका नगद, जिन्सी सामानहरूमा क्षति पु¥याई, लुटपाट तथा अपराधिक उपद्रव गरेको’, प्रहरीले भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सडकमा गुडीरहेका निजी र सरकारी सवारी साधनहरू समेत आगजनी गरी आतंकित पारी तथा पार्न लगाई पूर्व योजनाअनुसार संगठित तवरले आपराधिक घटना घटाई मानिसको ज्यानैलिने समेतका आपराधिक कार्य गरी घटना वारदात पश्चात भागी फरार रहेका तपसिलका उल्लेखत थप २ जना प्रतिवादीहरूलाई झापा जिल्लाको भद्रपुरबाट नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट दिन १२ मिलान म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको छ ।’

पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटमा राजसंस्था ल्याउँछु भनेर तीनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शनको नेतृत्व गरेका प्रसाईं हिंसापछि फरार भएर भारतमा लुकेर बसेका थिए ।

Published : Friday, 2025 April 11, 9:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया