राजधानीमै कम्युनिस्टहरूको आतंक, तरुण दलका नेताको टाउको फुटाए, एसएसपीकै संरक्षण

काठमाडौं । ललितपुर जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका युवाहरूको आक्रमणबाट नेपाल तरुण दलका तीनजना जिल्ला नेताहरू घाइते भएका छन् ।

गोदावरी नगरपालिका वडा नं. ८ डुकुछापमा ‘नेकपा’का कार्यकर्ताहरूले तरुण दलका जिल्ला सदस्य बुद्धिबहादुर श्रेष्ठको टाउँकोमा प्रहार गरेर गम्भीर घाइते बनाएका हुन् । श्रेष्ठको टाउँकोमा ९ वटा टाँका लागेको छ । लक्ष्मी पूजाको एकदिन अगाडि भएको सो घटनामा नेकपाका कार्यकर्ताले धारिलो हतियारले श्रेष्ठको टाउँकोमा प्रहार गरेका थिए ।

सत्ताको आडमा नेकपाका नेताहरूको संरक्षणमा डुकुछाप क्षेत्रमा अबैध बालुवाखानीमा संलग्न रहँदै आएका विनोद केसी, रामहरि केसी, प्रल्हाद रानाभाट, श्रीकृष्ण खवाससहितको समूहले तरुण दलका नेताहरूलाई ज्यान मार्ने उदेश्यले सांघातिक आक्रमण गरेको घाइते श्रेष्ठले बताए । दोषीलाई कारबाही गर्न माग गरेर प्रहरीमा उजुरी दिँदा पनि दोषीलाई कारबाही नभएको श्रेष्ठले बताए ।

नेकपाका युवाहरूको आक्रमणबाट नेपाल तरुण दल ललितपुरका जिल्ला सदस्य राजेन्द्रकुमार शाही र नेपाल तरुण दल ललितपुर क्षेत्र नं. १ का सचिव अनिल श्रेष्ठ पनि घाइते भएका छन् । उनीहरूलाई नेकपाका युवाहरूले सडकबाट दुई सय मिटर तल खोल्सामा खसालिदिएका थिए ।

सडकमा बिग्रिएको टिप्पर बनाउन मिस्त्री लगेर गएका तरुण दलका नेता श्रेष्ठमाथि विनोद केसीसहितको समूहसँग वादविवाद भएको थियो । सोही विवादमा नेकपाका युवाहरूले सांघातिक आक्रमण गरेको जनाइएको छ ।

लक्ष्मीपूजाको एक दिन अगाडि भएको सो घटनाको मुद्धा जावलाखेल प्रहरीमा दर्ता भएको छ । मुद्धा दर्ता भएपछि कुटपिटमा संलग्न नेकपाका कार्यकर्ताहरूलाई पक्राउ गरेर कारबाही गर्नुको साटो सत्ताको दवावमा कुनै पनि कारबाही भएको छैन । ललितपुर प्रहरीका प्रमुख एसएसपी रविन्द्र धानुकलाई यसबारेमा सोध्न फोनमा सम्पर्क गर्दा फोन उठेन । एसएसपी धानुकले नै तरुण दलका नेताहरूलाई कुटपिट गर्ने नेकपाका अराजक युवाहरूलाई संरक्षण गरेको आरोप पीडित पक्षले लगाएको छ ।

ललितपुर क्षेत्र नं. १ का कम्युनिस्ट सांसद नवराज सिलवालको दवावमा एसएसपी धानुकले तरुण दलका नेताहरूलाई मिल्न दवाव दिँदै आएका छन् ।

बुङमती प्रहरीका निरीक्षक दीपक मगरातीले नेपाल तरुण दलका नेता बुद्धिबहादुर श्रेष्ठलाई कुटपिट भएको र टाउँकोमा चोट लागेको बताए । ‘मेरोमा मुद्धा दर्ता भएको छैन । उहाँहरूले जावलाखेलमा मुद्धा दर्ता गराउनुभएको छ’, उनले भने, ‘टिप्पर सडकमा बिग्रिएपछि भनाभन भै झगडा भएको हो । त्यस क्रममा बुद्धिजीको टाउँकोमा चोट लागेको थियो । अरुलाई पनि चोट लागेको छ ।’

के हो घटना ?

गोदावरी नगरपालिकाको डुकुछापमा बालुवा लिएर गन्तव्यतर्फ जाँदै गरेको टिप्पर बाटोमा बिग्रिएको थियो । टिप्पर बनाउने क्रममा जिपमा मिस्त्री लिएर बुद्धिबहादुर श्रेष्ठ सहितको समूह पुगेको थियो । सडक किन राखेको भनेर नेकपाका विनोद केसी, रामहरि केसी, प्रल्हाद रानाभाट, श्रीकृष्ण खवाससहितको समूहले सांघातिक आक्रमण गरेका थिए । यो समूहले जिप र टिप्परमा पनि तोडफोड गरिदिएको छ ।

यी युवाहरूलाई सो क्षेत्रका कम्युनिस्ट सांसद नवराज सिलवालले संरक्षण गरेका कारण एसएसपी धानुकले कारबाही गर्न नमानेको आरोप पीडित पक्षको छ ।

Published : Tuesday, 2018 November 13, 11:59 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया