ओलीजीलाई राष्ट्रपतिको सुविधा थप्न भ्याइनभ्याइ छः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले नेतृत्वको कमजोरी र कार्यदिशा अस्पष्ट भएकाले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले जनअपेक्षा र दीर्घकालीन महत्वका काम अघि बढउन नसकेको टिप्पणी गरेको छ ।

कांग्रेसले कम्युनिस्ट सरकारको कार्यदिशा अस्पष्ट हुनुमा नेतृत्वको कमजोरी रहेको प्रस्टै देखिएको उल्लेख गरेको छ । ‘पत्रपत्रिकाकै समाचार पढ्नुभयो भने थाहा हुन्छ राष्ट्रपति भवनलाई विस्तार गर्नुपर्ने भयो रे’, कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा.रामशरण महतले मंगलबार रातोपाटी डटकमसँगको अन्तर्वार्ताका क्रममा भनेका छन्, ‘सरकार त राष्ट्रपति भवन निर्माण गर्न नै ठूलो रकम खर्चिन आतुर छ ।’

कांग्रेस नेता डा.महतले भनेका छन्, ‘पहिला शीतलनिवासमै काम चल्छ भन्ने थियो । पछि डबल तेब्बर भवन पनि बनिसकेका छन् । अझै पुगेन । अब हुँदाहुँदा प्रहरीको तालिम केन्द्र पनि राष्ट्रपतिकोमा ल्याउने तयारी हुँदैछ भनिएको छ ।’

यस्ता खालका गतिविधि जनतालाई आवाश्यक छ कि छैन भनेर प्रश्न उठेको उनले बताए । डा.महतले प्रधानमन्त्री ओलीलाई राष्ट्रपतिको सुविधा र भावन थप्नमै भ्याइनभ्याइ भएको भन्दै आलोचना समेत गरे ।

२५ अर्बभन्दा माथिका आयोजनाहरू प्रधानमन्त्रीकोमा लगेर सुशासन आउँछ ? प्रश्न गर्दै कांग्रेसका नेता डा.महतले भने, ‘यी सुशासनका संकेत हुनै सक्दैनन् । यो त लेटेस्ट उदाहरण मात्रै हो । यस्ता धेरै निर्णय भएका छन् ।’

‘प्रधानमन्त्री केपी ओलीमा यति धेरै अधिकार थोपर्ने प्रयास भएको छ । यसले राम्रो संकेत गर्दैन’, उनले भने, ‘प्रधानमन्त्रीको काम त सरकारका कामको अनुगमन गर्ने, मन्त्रीहरूका काम अनुगमन गर्ने हो । नेतृत्व, निर्देशन र समन्वय गर्नुपर्ने प्रधानमन्त्रीलाई यति धेरै अधिकार आवाश्यक पर्‍यो ?’

मन्त्रीका अधिकारमा पनि आफै हात हाल्ने र आफैले लिने प्रवृत्ति ठीक नभएको उनले बताए । ‘उहाँले त कुनै पनि आयोजनालाई चाँडो सम्पन्न गर्न जहिले पनि निर्देशन र अनुगमन गर्नुपर्ने हो, यसरी प्रत्यक्ष हेर्ने होइन’, डा.महतले भनेका छन्, ‘त्यसका लागि नयाँ कानून पनि बनाइँदैछ भन्ने सुनेको छु । यसले त अरू मन्त्रालयप्रति विश्वास नै नभएको र नगरेको जस्तो देखिन्छ । कि अरू मन्त्रीहरू अयोग्य छन् भन्नुप¥यो ।’

कम्युनिस्ट सरकारले अधिकारहरू प्रधानमन्त्री ओलीमा केन्द्रित गर्नुका साथै मन्त्रिपरिषदका निर्णयहरू लुकाउने प्रयास भैरहेका बेला कांग्रेसका नेता डा.महतको यस्तो टिप्पणी आएको छ ।

Published : Tuesday, 2018 November 13, 8:33 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया