यसरी मिलायो कांग्रेसले नेविसंघको विवाद, खुसी हुँदै निस्किए नेताहरू

काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ)को म्याद दुई महिना थप गरेको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आइतबार अबेर रातिसम्म बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले नेविसंघको अहिलेकै कार्यसमितिलाई महाधिवेशन गर्ने निर्देशनसहित दुई महिना म्याद थप गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

शर्माका अनुसार नेविसंघको विधानलाई संशोधन गरेर दुई महिना बढाइएको हो । ‘नेपाल विद्यार्थी संघद्वारा प्रस्तुत विधान नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले परिमार्जन सहित स्वीकृत गरेको छ’, प्रवक्ता शर्माले भनेका छन् ।

सहमहामन्त्री डा.प्रकाश शरण महतका अनुसार दुई महिनाभित्र नेविसंघको अहिलेकै कार्यसमितिले १२औँ महाधिवेशन गर्नुपर्नेछ ।

कांग्रेसले नेविसंघको ३२ वर्षे उमेर हदसहितको संघीय संरचनाको विधानलाई बहुमतबाट पारित गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

‘नेविसंघको म्याद २ महिना थप्ने विषय बहुमतबाट पारित भएको छ’, नेता पौडेलले भने, ‘नेविसंघको विधानलाई सर्वसम्मत रुपबाट पारित गरिएको छ । नेविसंघमा अबदेखि ३२ वर्षे उमेर हद लागू भएको छ ।’

बैठकको शुरुमै सभापति शेरबहादुर देउवाले नेविसंघको म्याद २ महिना थप्न प्रस्ताव गरेका थिए । देउवाको यो प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, अर्जुन नरसिंह केसी, डा.रामशरण महतसहितका केही नेताहरूले असहमति जनाएका थिए ।

सभापति देउवाले पौडेल र सिटौलालाई नेविसंघको विवाद कसरी मिलाउने तपाईहरू आफैले सहमतिको प्रस्ताव ल्याउन आग्रह गरेका थिए । तर, पौडेल र सिटौला दुबैबीच नै सहमति हुन नसकेपछि सभापति देउवाकै दुई महिना म्याद थपको निर्णय पारित भएको स्रोतले जनाएको छ ।

वरिष्ठ नेता पौडेलले नेविसंघलाई विघटन गरेर तदर्थ समिति बनाइ २ महिनाको समय दिएर १२औँ महाधिवेशन गर्न प्रस्ताव गरेका थिए । नेता कृष्णप्रसाद सिटौलाले अहिलेकै कार्यसमितिलाई छ महिनाको समय दिएर महाधिवेशन गर्न प्रस्ताव गरेका थिए । अन्तिममा देउवाकै प्रस्तावलाई केन्द्रीय कार्यसमितिले बहुमतबाट पारित गरेको थियो ।

बैठकमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, डा.रामशरण महत, अर्जुननरसिंह के.सी., बलबहादुर के.सी., फरमूल्लाह मन्सुर, नवीन्द्रराज जोशी, डा. चन्द्र भण्डारी, शंकर भण्डारी, गगनकुमार थापा, गुरुराज घिमिरे, मोहनबहादुर बस्नेत, बीरबहादुर बलायर र प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो धारणा राखेका थिए ।

Published : Sunday, 2018 November 18, 9:43 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया