पौडेलद्वारा कांग्रेसको सुदृढीकरणका लागि कार्यक्रमहरू प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको संगठन सुदृढीकरण र कम्युनिस्टहरूको अधिनायकवादविरुद्ध विभिन्न कार्यक्रमहरू प्रस्ताव गरेका छन ।

पौडेलले यतिखेर इतिहाँसकै कठिन मोडमा कांग्रेस रहेको बताएका छन । उनले जनताको अपार आशा, अपेक्षा र भरोसाको केन्द्रविन्दुमा कांग्रेस रहेको बताएका छन ।

‘गौरवशाली विगतले प्रदान गरेको जिम्मेवारी, उर्लिदो जनसमर्थनको प्रेरणा र लाखौं कार्यकर्ता एवं शुभेच्छुकको उर्जाको जगमा नेपाली कांग्रेसले आफ्नो भावी मार्ग तय गर्न अब ढिला गर्नुहुँदैन’, पौडेलले सभापति शेरबहादुर देउवालाई सम्बोधन गरेर महासमिति बैठकमा पेस गर्न तयार परिएको प्रस्तावित कार्यक्रमहरूमा भनिएको छ, ‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद र जनताका आधारभूत सरोकार र दैनिकी माथि मडारिएका सबैखाले चुनौती र अतिवादको सामना गर्न, संविधानको ईमान्दार कार्यान्वयन गर्न र सबै जाति, वर्ग, लिङ्ग र क्षेत्रका जनताको आर्थिक–सामाजिक समृद्धी सुनिश्चित गर्न सशक्त र जनमुखी कांग्रेसको पुनरोदय जरुरी छ ।’

पौडेलले समृद्ध र स्वाभिमानी नेपाल निर्माणका लागि नेपाली कांग्रेसको लोकतान्त्रिकरण र नेपाली समाजकै लोकतान्त्रिकरण हाम्रो लक्ष्य रहेको बताएका छन ।

महासमितिको वैठक पश्चात बिलम्ब नगरिकनै पार्टी संगठनलाई सृदृढ र गतिशील बनाउने अभियान सञ्चालन गर्नुपर्ने पौडेलको भनाइ छ । ‘यस अभियानका क्रममा सदस्यता वितरण र प्रशिक्षण अभियानलाई संगसंगै लैजानु पर्दछ । पदयात्रा कार्यक्रम सर्वत्र सञ्चालन गर्नुपर्छ’, उनले भनेका छन, ‘कम्युनिष्ट सत्ताका मनपरितन्त्रको विरोध गर्नुपर्छ । हाम्रा सदस्यहरूलाई वैचारिक र सांगठनिक प्रशिक्षण दिने, “कम्युनिष्टहरुले भन्दै आएको समाजवाद र प्रजातान्त्रिक समाजवाद कुन सही र श्रेष्ठ हो ?” भन्ने विषयमा बहस सर्वत्र चलाउनुपर्छ ।’

‘अब कांग्रेसलाई मुखर बनाउनु छ । सबै भातृसंस्था र जनसम्पर्क समितिहरूको समयमै अभिवेशन सम्पन्न गर्ने, समयबद्ध काम गर्ने वानी बसाल्ने, पार्टीका सबै तहका नियमित बैठकहरू गर्ने, बैठकका एजेण्डाहरू समय सापेक्ष बनाउने, लोकतान्त्रिक संस्कार र संस्कृति अबलम्बन गराउने, पार्टीको शिक्षा, स्वास्थ्य लगायतको बिकास नीतिमा स्पष्टता प्रदान गर्ने, गरिबी निवारण र रोजगारी दिलाउने विषयमा पार्टीको नीति स्पष्ट पार्ने, सामाजिक विभेदहरू हटाउने, समाजमा सहिष्णुता र धार्मिक, जातीय सद्भावको वातावरण निर्माण गर्ने, व्यबहारमा नै लोकतान्त्रिक समाजवादी पार्टी निर्माणमा जुट्ने खालको अभियान सञ्चालन गर्नु पर्दछ ।’

कांग्रेसका वरिष्ठ नेता पौडेलले स्थानीय तहका प्रतिनिधिहरूको अभिमुखीकरण र स्थानीय जनप्रतिनिधिहरूलाई जनचाहना अनुरुप प्रभावकारी काम गर्न निरन्तर समन्वय एवं निर्देशन गरिरहनु पर्ने बताएका छन ।

‘देशैभरि विपी विचार यात्रा र गणेशमान वलिदान अभियान जस्ता जनस्तरमा व्यापक प्रभाव छोड्ने कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ’, पौडेलद्वारा बुधबार राति जारी विज्ञप्तिमा भनिएको छ, ‘मधेश र कांग्रेसको घनिष्टता बढाउन मधेश केन्द्रित अभियान सञ्चालन गर्नुपर्दछ । मधेसको भूमि र पहाडको पानीको शक्तिमा साझेदारी कायम गरौं । ’

अभियान पश्चात महासमितिबाट संशोधित विधानले व्यबस्थित गरेका पार्टी संरचनाहरू टोल, वडा, गाउँ, नगर तहदेखि केन्द्रीय महाधिवेशनको कार्यतालिका अहिले नै निर्माण गरेर अगाडि बढ्न अनिवार्य देखिएको उनले बताएका छन ।

वरिष्ठ नेता पौडेलले बिहीबारको महासमिति बैठकमा पेस गर्ने गरेर विभिन्न कार्यक्रमहरू प्रस्ताव गरेका छन ।

२०७५ पुस १६ देखि २०७६ असार मसान्तसम्म राष्ट्रव्यापी जागरण अभियान, पदयात्रा, गाउँगाउँ र टोलटोलमा वैचारिक र सांगठनिक प्रशिक्षण सहित “सदस्यता वितरण अभियान” चलाउने उल्लेख छ ।

२०७६ आश्विन मसान्तसम्म “क्रियाशील सदस्यता वितरण र नवीकरण” सँगसँगै प्रशिक्षण कार्यक्रम गर्ने, २०७६ मंसिर मसान्तसम्म टोल, मतदान केन्द्र, वडा, गाउँपालिका, नगर, उपमहानगर, महानगरपालिका अधिवेशन सम्पन्न गर्ने कार्यक्रमहरू पौडेलले प्रस्ताव गरेका छन ।

२०७६ पुस मसान्तसम्म प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, जिल्ला अधिवेशन सम्पन्न गर्ने, २०७६ माघ १६ प्रदेश अधिवेशन सम्पन्न गर्ने, २०७६ फागुन ७ केन्द्रीय महाधिवेशन उद्घाटन गर्ने, २०७६ चैतबाट २०७७ असोज मसान्तसम्म नव निर्वाचित सबै तहका समितिहरूको वैचारिक तथा संगठनात्मक प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्ने र देशव्यापी प्रशिक्षण कार्यक्रम चलाउने कार्यक्रम प्रस्तावमा उल्लेख छ ।

२०७७ चैत मसान्तसम्म जनसरोकारका कार्यक्रमहरू अभियानका रुपमा सञ्चालन गर्ने, २०७८ वैशाखबाट निर्वाचनमुखी कार्यक्रम सञ्चालन गर्ने पौडेलद्वारा महासमिति बैठकका लागि तयार पारिएको प्रस्तावमा उल्लेख छ ।

बुधबार साँझ बसेको केन्द्रीय कार्यसमिति बैठकमा पौडेलले यी कार्यक्रमहरू पेस गरेका थिए । अनुमोदनका लागि बिहीबार सानेपामा बस्ने महासमिति बैठकमा पौडेलले प्रस्ताव गर्नेछन । महासमितिले यो कार्यक्रमलाई अनुमोदन गरेमा सोही अनुसार कार्यक्रम अगाडि बढनेछन ।

Published : Wednesday, 2018 December 19, 10:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया