कम्युनिस्ट सरकारले अमेरिकासँग हतियार किन्ने

काठमाडौं । नेपालको कम्युनिस्ट सरकारले अमेरिका र अमेरिकाका साझेदार राष्ट्र इजरायलसँग ठूलो परिमाणमा हतियार खरिद गर्न लागेको रहस्य बाहिर आएको छ ।

अमेरिकाको निम्तोमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाको भ्रमण गरेर त्यसको तयारी गरेका छन । १७ वर्षपछि ३ पुसमा नेपाल र अमेरिकाबीच परराष्ट्रमन्त्रीस्तरीय औपचारिक वार्ता पनि भएको छ ।

भ्रमण सम्पन्न गरेर परराष्ट्रमन्त्री ज्ञवाली शनिबार स्वदेश फर्केका छन । ज्ञवालीले अकस्मात गरेको चीन भ्रमणलाई लिएर विभिन्न अडकलबाजी भैरहेका बेला हतियार खरिदको चर्चा बाहिर आएको छ ।

कम्युनिस्ट सरकारले यस वर्ष सेनालाई ६ अर्ब ९० करोड रुपियाँबराबरका हतियार खरिद गर्ने निर्णय गरेको छ ।

अमेरिकासँग १० हजार थान एम–१६ तथा अन्य हतियार र गोलीगठ्ठा खरिद प्रक्रिया अघि बढेको स्रोतले जनाएको छ ।

अमेरिकी गठबन्धनको सहयोगी इजरायलबाट ६ हजार ४ सय ९२ थान हतियार किनिँदै छ ।

हतियार खरिदबापत नेपालले इजरायललाई ३ अर्ब ४५ करोड ४ लाख रुपैयाँ र अमेरिकालाई २ अर्ब १९ करोड ४१ लाख रुपियाँ बुझाउँदै छ ।

अमेरिकाबाट सेनाका लागि चारवटा स्काइ ट्रक पनि खरिद गर्ने तयारी भैरहेको छ । दुवै सरकारबीचको छलफलअनुसार जहाज खरिद हुन लागेको पृष्ठभूमिमा परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिका भ्रमण गरेका छन ।

यता, अमेरिकाले हिन्ददेखि प्रशान्त महासागर क्षेत्रमा पनि चासो बढाएको छ । यो क्षेत्रका खासगरी भारत, चीन, भियतनाम, उत्तर कोरियामा अमेरिकाको चासो छ ।

इन्डोप्यासिफिक (हिन्द–प्रशान्त) क्षेत्रका देशसँग सुरक्षा मामिलामा सम्बन्ध विकसित गर्न अमेरिकाले यस वर्ष करिब ३० करोड डलर छुट्याएको छ ।

जसमा २९ करोड ५ लाख डलर सैन्य क्षेत्रमा अनुदानस्वरूप खर्च हुनेछ । ८५ लाख डलर लागुपदार्थविरुद्ध कानून कार्यान्वयनका लागि छुट्याएको छ ।

सुरक्षा सहायताअन्तर्गत नेपाल, बंगलादेश, इन्डोनेसिया, मंगोलिया, प्यासिफिक आइल्यान्ड, फिलिपिन्स, श्रीलंका, भियतनाममा सञ्चालित परियोजनामा लगानी गर्ने अमेरिकी नीति छ ।

परराष्ट्रमन्त्री ज्ञवालीसँगको संवादमा अमेरिकी समकक्षी माइकल रिचर्ड पोम्पेओले स्वतन्त्र, खुला र सम्पन्न ‘इन्डोप्यासिफिक’ क्षेत्रमा नेपालको केन्द्रीय भूमिका रहने बताएका थिए ।

Published : Sunday, 2018 December 23, 10:41 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया