ओली सरकार काण्डै काण्डमा फस्योः रामचन्द्र पौडेल

गोरखा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरूको अझै सिद्धान्तको टुंगो नलागेको भन्दै कम्युनिष्टहरू सिद्धान्तमा अझै कन्फ्यूज भएको बताएका छन ।

राष्ट्रिय मेलमिलाप दिवसको उपलक्ष्यमा नेपाली कांग्रेस गोरखाले सोमबार गोरखामा आयोजना गरेको कार्यक्रममा पौडेलले अहिले पनि समाजवाद कि जनवाद भनेर नेपाल कम्युनिष्ट पार्टीका नेताहरू रुमलिरहेको बताए ।

उनले भने, ‘अहिले पनि केपी ओली जनवाद भनेर भन्दै हुनुहुन्छ अनि प्रचण्ड चाहिँ समाजवाद भन्दै हुनुहुँन्छ । उहाँहरूले अझै पनि सिद्धान्तमा कन्फ्यूज हुनुहुन्छ ।’

उनले सिद्धान्तमा नै कन्फ्यूज भएको शक्तिले मुलुकमा समृद्धि ल्याउन नसक्ने बताए । कम्युनिष्टहरूको सिद्धान्तको टुंगो नलागेका कारण अहिलेको कम्युनिष्ट सरकार गतिहीन बनेको पौडेलको भनाई छ ।

कम्युनिष्टहरू नारा लगाउन सिपालु भएको बताउँदै पौडेलले भने, ‘कम्युनिष्टहरू थुतुनो चलाउन सिपालु छन् । काम गर्ने ढंग छैन् । त्यसकारण मुलुकको समृद्धिका लागि फेरि पनि नेपाली कांग्रेसले नै नेतृत्व लिनुपर्छ ।’

सरकारले आफ्नो कामको प्राथमिकता छुट्याउन नसकेको आरोप लगाउदै देशभर कांग्रेसको पालामा बनेको कच्ची सडकलाई पिच गर्न समेत नसक्ने सरकारले समृद्धि ल्याउँछ भन्ने कल्पना गर्न नसकिने बताए ।

सुशासनको चर्को भाषण गर्ने केपी ओलीको सरकार अहिले काण्डै काण्डमा फसेको पौडेलले बताए । उनले वर्तमान सरकारका वाइड बडी काण्ड, सुन काण्ड, चिनी काण्ड कायौँ काण्डमा सरकार मुछिएको बताए । उनले बुढीगण्डकीमा बिनाप्रतिपर्धा चिनियाँ कम्पनीलाई ठेक्का दिएर भ्रष्टचार भएको बताए ।

ठूला सवै आयोजना प्रधानमन्त्री कार्यालयको मताहतमा राखेर प्रधानमन्त्रीले बोलीभन्दा व्यवहार फरक गरेर भ्रष्टचारलाई प्रश्रय दिएको बताए । प्रधानमन्त्रीले काण्डै काण्ड मच्याएर पैसाको राजनीतिलाई बढवा दिएको पौडेलको आरोप थियो । उनले पैसाको राजनीति लोकतन्त्र र सुशासनको सवैभन्दा ठूलो शत्रु भएको बताए ।

पौडेलले विपीले लिएको मेलमिलापको नीतिको सान्र्दभिकता अझै रहेको बताउदै अब राष्ट्रिय हित र राष्ट्रियताका लागि राष्ट्रिय शक्तिका बीचमा अझै पनि एकता आवश्यक रहेको बताए । उनले नेपाली कांग्रेसले राष्ट्रियताका लागि मेलमिलाप आवश्यक रहेको निष्कर्षमा अझै रहेको बताए ।

उनले नेपाली कांग्रेस सच्चा राष्ट्रवादी शक्ति रहेको बताउँदै भने, ‘कांग्रेस राष्ट्रवादी शक्ति हो । कांग्रेस हिमाल, पहाड तराईलाई एकै ठाँउमा राख्ने प्रयासमा लाग्यो । तर, चुनावमा बेलामा मधेशलाई विहारमा मिसाउँदा हुन्छ भन्ने केपी ओलीलाई राष्ट्रवादी भनियो । अब कांग्रेसले सच्चा राष्ट्रवादी शक्ति हो भनेर जनतालाई बुझाउन जरुरी छ ।’

पौडेलले आफू सधै पार्टी एकताको पक्षमा रहेको बताए । उनले भने, ‘पार्टी एक बन्नुपर्छ भनेर मैले विपी सुवर्णका पालादेखि नै भन्दै आएको हो । पार्टी एकता मुद्दामा हुन्छ । जीवन्त र लोकतान्त्रिक पार्टीमा छलफल र बहस हुन्छ ।’

पौडेलले महासमिति बैठकमा पार्टी सभापति पार्टीको विधान लोकतान्त्रिक र समावेशी बनाउन तयार भएपछि त्यो मुद्दा सभापतिसंग आफू एक भएको बताए । उनले एकताका लागि न्याय, निष्पक्षता र पारदर्शी मूल्याङकन हुनुपर्ने बताए । उनले आफू अर्ली महाधिवेशनको पक्षमा नभई टाइम्ली महाधिवेशनको पक्षमा भएको बताए ।

उनले अहिलेदेखि सदस्यता वितरण अभियान शुरु गरेर टोल, वडा, गाउँ नगर तथा सवै तहगत अधिवेशन गर्ने हो भने अब टाइम्ली महाधिवेशन संभव भएकाले केन्द्रीय समितिको बैठकमा आफूले सोही धारणा राख्ने बताए ।

उनले भन, ‘पार्टीको उज्यालो भविश्यका लागि अब क्यालेण्डरमा काम गर्न जरुरी छ । क्यालेण्डरमा काम गरे मात्र कम्युनिष्टसंग लड्न सकिन्छ ।’

कांग्रेसका नेता पौडेलले कार्यकर्ताले पनि सहिलाई सहि गलतलाई गलत भन्नसक्नुपर्ने बताए । उनले भने, ‘सय भारी खर काट्ने र सय भारी खर आगो लगाउनेलाई एउटै व्यवहार गर्न हुँदैन् । कार्यकर्ताले नेताको मूल्याङकन गर्न सके मात्र नेताले कार्यकर्ताको सहि मूल्याङकन गर्दछन् ।’

Published : Monday, 2018 December 31, 4:54 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया