कांग्रेसलाई गाउँमा बलियो बनाउनुपर्छः रामहरि खतिवडा

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवं पूर्वसांसद रामहरि खतिवडाले गाउँ बलियो भने मात्रै कांग्रेस बलियो हुने बताएका छन ।

४३औं मेलमिलाप दिवसका अवसरमा ओखलढुंगाको बेतिनीमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले कांग्रेसले गाउँका जनतालाई समेटेर पार्टीलाई बलियो बनाउनुपर्ने बताए ।

‘कांग्रेसले पहिला गाउँलाई बलियो बनाउनु पर्छ । गाउँ बलियो भयो भने गाउँपालिका र नगरपालिका बलियो हुन्छ । नगरपालिका र गाउँपालिका बलियो भयो भने क्षेत्र र जिल्ला बलियो हुन्छ । त्यसपछि प्रदेश केन्द्र बलियो हुन्छ’, उनले भने, ‘आजैदेखि गाउँबाट कांग्रेसलाई बलियो बनाउने अभियानमा लागौँ ।’

कांग्रेसलाई बलियो र ठूलो बनाउनका लागि आफूले जस्तो बलिदानी गर्न पनि तयार रहेको बताएका युवा नेता खतिवडाले भने, ‘तेरो र मेरो कांग्रेस भन्ने होइन । हाम्रो कांग्रेस भन्नुपर्छ । मेरो होइन राम्रो व्यक्तिलाई जिम्मेवारी दिइनुपर्छ ।’

नेपाली कांग्रेसले सुरुवात गरेको मेलमिलाप र राष्ट्रिय एकता दिवसको सान्दर्भिकता झन बढेको नेता खतिवडाको भनाइ छ ।

‘कांग्रेसभित्र पनि मेलमिलाप र एकताको आवश्यक्ता छ’, उनले भने, ‘हामीले व्यक्तिगत स्वार्थ त्यागेर कांग्रेस बनाउन लाग्नुपर्छ । गाउँदेखि केन्द्रसम्म कांग्रेसलाई बलियो बनाएर देश विकास र जनताका दुःख पीडा अन्त्य गर्नुपर्छ ।’

कांग्रेसलाई कम्युनिस्टहरूबाट भन्दा पनि तीन सय पैसठठी दिन कांग्रेस हुने र एक दिन अर्को पार्टी हुनेहरूका कारण समस्या भएको उनको भनाइ छ ।

‘कांग्रेस हुने हो भने कांग्रेसलाई साथ दिनुपर्छ’, उनले भने, ‘कांग्रेसलाई भोट नदिनेहरू सच्चा कांग्रेस होइनन । यो प्रवृत्ति अन्त्य हुनै पर्छ ।’

खडगप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारप्रति आक्रामक देखिएका कांग्रेसका युवा नेता खतिवडाले ओलीको कम्युनिस्ट सरकारलाई बाँदर र ढेँडुको संज्ञा दिए ।

‘केपी ओलीजीले विगतमा माओवादीलाई बाँदर र ढेँडु भन्नु हुन्थ्यो । उहाँले बाँदर र ढेँडुलाई लिएर कसरी सरकार चलाउनु हुन्छ ?’, कांग्रेसका नेता खतिवडाले भने, ‘बाँदर र ढेँडुले बनाउँदैन । बिगार्न मात्रै जाने हुन्छ । यो सरकारबाट देश बन्ला भन्ने आशा जनताले गरेका छैनन ।’

देशको विकास र जनताका अधिकारलाई नेपाली कांग्रेसले मात्रै पूरा गर्ने उनको भनाइ थियो । ओली सरकारको अराजकताका कारण मत दिएका मतादाताहरू दिक्क भएको उनले बताए ।

‘कम्युनिस्टहरूलाई किन मतदान गरियो भनेर मतदाताहरू दिक्क भएका छन’, खतिवडाले भने, ‘चौतर्फी असफल भएको ओली सरकार चार वर्ष पनि टिक्छ कि टिक्दैन आशंका उब्जिएको छ ।’

Published : Monday, 2018 December 31, 7:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया