ओलीको रिपोर्ट कार्ड कांग्रेसलाई चाहियो, फेल गराइदिन्छौंः डा.कोइराला

हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले विकास भनेको लोकतन्त्रमा मात्रै सम्भव हुने बताएका छन ।

हेटौँडामा बुधबार आयोजित कार्यक्रममा डा.कोइरालाले अहिलेसम्म केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को दिमागमा लोकतन्त्र भनेको कुरा नघुसेको बताए । ‘विकास भनेको लोकतन्त्रमा मात्रै हुन्छ’, उनले भने, ‘बिडम्बना आहिलेसम्म ओली र प्रचण्डको दिमागमा लोकतन्त्र भनेको के हो घुसेको छैन ।’

कम्युनिस्ट सरकारले सम्पत्तिमाथिको अधिकार खोस्न लागेको भन्दै कांग्रेसका नेता डा.कोइरालाले आपत्ति जनाए । ‘सम्पत्तिमाथिको अधिकार भनेको जमिनमाथि हुन्छ । कम्युनिस्ट सरकारले त्यसमाथि प्रहार गरिरहेको छ’, उनले भने, ‘ओलीजीलाई दुईतिहाईको दम्भ छ । काटुर्न बनाउनु भयो भने जेल हालिदिन्छन् । बुद्धिजीवी भनेका काम नलाग्ने हुन् भन्नु हुन्छ । प्रधानमन्त्रीले वुद्धिजीवीहरूलाई बबक गर्छन् भन्नु हुन्छ । जे गरे पनि हुन्छ भन्ने दम्भ ओलीलाई छ ।’ कांग्रेस नेता डा.कोइरालाले ओलीको दुई तिहाईको दम्भलाई जनताले भत्काइदिने बताए ।

उनले कम्युनिस्ट र ओलीको दुई तिहाईको दम्भलाई कांग्रेसले नसहने बताए । ‘जनताले ओली र कम्युनिस्टहरूको दुई तिहाईको दम्भ कांग्रेसले सहँदैनन । नेपाली जनताले पनि सहदैनन्’, उनले भने, ‘संवैधानिक सर्वोच्चता स्वीकार गर्ने पक्षमा ओली छैनन् । संवैधानिक सर्वोच्चता भयो भने शक्ति सन्तुलन हुन्छ । मानवअधिकार छ कि छैन थाहा छैन । शान्ति सुरक्ष छ कि छैन थाहा भएन ।’

कांग्रेसका नेता डा.कोइरालाले निर्मला पन्तको बलत्कार भएको १६० दिन भएको भन्दै दोषी पक्राउ नपरेकोमा चिन्ता जनाए । ‘प्रधानमन्त्री केपी ओली मन्त्रीको रिपोर्ट चार्ट बनाउँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीको तपाईको रिपोर्ट कार्ड पहिला हामीलाई चाहियो’, कांग्रेसका नेता डा.कोइरालाले भने, ‘राष्ट्रिय अनुसन्धान विभाग आफैसँग राखेर पनि निर्मला पन्तको हत्यारा पत्ता नलगाउने प्रधानमन्त्री ओलीजी तपाईको रिपोर्ट कार्ड कांग्रेसलाई चाहियो । तपाईको रिपोर्टक कार्ड आयो भने तपाईको अंक जिरो आउँछ ।’

प्रधानमन्त्री ओलीले बुढीगण्डकीलाई विना प्रतिस्पर्धा विवादित चिनियाँ कम्पनीलाई दिएको भन्दै डा.कोइरालो आपत्ति जनाए । ‘पेट्रोलमा पाँच रुपियाँ प्रतिलिटर बुढीगण्डकीमा जनताको पैसा उठाइएको छ । ओलीकै पहिलो कार्यकालमा पाँच रुपियाँ उठाइएको हो’, उनले भने, ‘दोस्रो कार्यकाल शुरु हुनेवित्तिकै विवादित संस्थालाई ओलीले दिए ।’

ओलीले ५० अर्बभन्दा धेरैको आयोजना विनाप्रस्पिर्धा दिने निर्णय गरेर ठूलो गल्ती गर्नुका साथै लोकतन्त्रमाथि प्रहार गरेको कांग्रेसका नेता डा.कोइरालाले आरोप लगाए । ‘ओलीको नजिक भयो भने जसले पनि ५० अर्बको ठेक्का पाउँछ । यो त लोकतन्त्रको आधारभूत कुरालाई पनि उल्लंघन गरिएको छ’, उनले भने, ‘संविधानले प्रतिस्पर्धा विना केही गर्न पाइँदैन भन्ने सोँचेका पनि छैनन्’, उनले भने, ‘विमान खरिदमा पनि ठूलो घोटाला भएको छ ।’

कांग्रेसको महासमिति बैठकले विधान संशोधन गरेर राम्रो गरेको उनले बताए । ‘कांग्रेसले युवाहरूलाई कसरी आकर्षित गर्ने हो चुनौती छ । त्यो विषयमा योजना बनाउनु पर्छ’, कांग्रेसका नेता डा.कोइरालाले भने, ‘विदेशमा रहेका पचास लाख युवालाई कसरी स्वदेश फर्काउने हो कांग्रेसले योजना बनाउनुपर्छ । युवाहरूका लागि कांग्रेसले विशेष योजना बनाउनु पर्छ । कांग्रेसका नेताहरू युवा पुस्तासँग जोडिन सकेका छैनन । जोडिनु पर्छ । त्यसपछि मात्रै कांग्रेस बन्छ ।’

Published : Wednesday, 2019 January 2, 10:45 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया