प्रधानमन्त्री खडगप्रसाद ओलीको तस्वीरमा कालो मसी पोतियो
इलाम । इलाम जिल्लामा कम्युनिस्ट प्रधानमन्त्री खडगप्रसाद ओलीको तस्वीरमा कालो मसी छर्किएर पोतिएको छ ।
लगानी भित्राउने उद्देश्यका लागि शुक्रबार हुन लागेको लगानी सम्मेलनमा प्रधानमन्त्री ओलीलाई अभिनन्दन गर्ने कार्यक्रम थपिएपछि सम्मेलन नै विवादमा परेको हो ।
प्रधानमन्त्री ओलीको अभिन्दन कार्यक्रम राखेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ । कांग्रेसको विरोधपछि सम्मेलन कार्यक्रम नै विवादमा परेको छ ।
नेपाली कांग्रेस इलामका जिल्ला सभापति हिमालय कर्माचायले विज्ञप्ति जारी गरेर ओलीको अभिनन्दन कार्यक्रमको विरोध जनाएका छन् ।
खस्कदो शान्ति शुरक्षा, अनियन्त्रित हत्या, बलात्कार र संस्थागत भ्रष्टाचार लगायतका कारण विवादमा आइरहेका प्रधानमन्त्री ओलीको अभिनन्दनले इलामबासीको मान, मर्यादा र चेतनाको अवमूल्यन हुने कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले आफ्ना सबै तहलाई अभिनन्दन कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।
ओलीको अभिनन्दन कार्यक्रम विरुद्ध बिहीबार साँझ नेपाली कांग्रेसले नगरभरि पर्चा छरेको थियो ।
कार्यक्रमको प्रचारका लागि टाँगिएका पर्चामा प्रधानमन्त्री ओलीको तस्वीरमा राति नै कालो पोतिएको छ ।
कांग्रेसको विरोधपछि इलामको टुँडीखेलमा हुने भनिएको अभिनन्द कार्यक्रम सम्मेलन स्थल गौतमबुद्ध सभागृहमा सरेको नगरपालिकाले जनाएको थियो ।
टुँडीखेल चोक बजार र कांग्रेस पार्टी कार्यालय अगाडि प्रहरी तैनाथ गरिएको छ ।
नगर प्रमुख महेश बस्नेतले विवाद आउनु लोकतन्त्रको सौन्दर्य भएको प्रतिकृया दिए । ‘विवाद जहाँ जेमा पनि गर्न सकिन्छ’, उनले भने, ‘नगरपालिकाले कारणसहित सर्वसहमत निर्णय गरेर अभिनन्दन गर्न लागेको हो ।’
लगानी सम्मेलन इलाम नगरपालिका, उद्योग बाणिज्य महासंघ, उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर १ र इलाम उद्योग बाणिज्य संघको संयुक्त आयोजनमा गर्न लागिएको थियो ।
नेपाली कांग्रेस इलामले भने खलंगा स्थापनाको दुई सय वर्षको अवसरमा ८० लाख भन्दा धेरै खर्च भएको भन्दै कार्यक्रम र सम्मेलनका नाममा कार्यकर्ता पोस्ने काम भएको आरोप लगाएको छ।
मेयर बस्नेतले लक्ष्य गरे भन्दाबढी खर्च भएको स्विकार गरेका छन् ।
‘व्यक्तिले लगाएको पुराणमा त अनुमान गरेको रकमले पुग्दैन’, उनले भने, ‘यहाँ पनि अलिक बढी खर्च भएको छ ।’
वर्षभरि गर्ने कार्यक्रमका लागि नगर कार्यपालिका बैठकले दश लाख मात्र विनियोजन गरेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसमा तपाइको मत