मन्त्रीहरूको अर्को काण्ड बाहिरियो, ‘साइकलमन्त्री’ले सबैलाई उछिने

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले सरकारको नेतृत्व सम्हालेको १० महिनामा मन्त्रीहरूले जिल्ला भ्रमणमा गरेको लाखौँ रुपियाँ ध्वस्त बनाएको रहस्य खुलेको छ ।

कान्तिपुर दैनिक पत्रिकाले मन्त्रीहरूको भ्रमण खर्चबारे अति गोप्य कुराहरू बाहिर ल्याइदिएको छ । कम्युनिस्ट सरकारका मन्त्रीहरूले सरकारी पैसा खर्च गर्न के–केसम्म गर्दा रहेछन् भन्ने कुराले धेरैलाई चिन्ता बढाइदिएको छ ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको जम्बो मन्त्रिपरिषदलाई पनि कम्युनिस्ट सरकारका कथित साइकल र सर्वहारा मन्त्रीहरूले उछिनेका छन ।

२०७४ फागुन पहिलो सातादेखि मंसिरसम्म जिल्ला भ्रमणमा राज्यको ढुकुटीबाट करीव साढे २ करोड रुपियाँ सिध्याइएको छ ।

खर्च कटौती गर्न प्रधानमन्त्री ओलीले मितव्ययी बन्न भने पनि मन्त्रीहरूको पारा पहिलाको जस्तै देखिएको छ ।

मन्त्रीहरूले जिल्ला भ्रमण गर्दा एक दिनको ३ हजार रुपैयाँ भत्ता पाउँछन् । अध्ययन भन्दै हरेक साताजसो भ्रमणमा निस्कने मन्त्रीहरू अधिकांश आफ्नो निर्वाचन क्षेत्र र गृहजिल्ला पुगिरहेका हुन्छन् ।

मन्त्रीले विदेश भ्रमण गर्दा भने दैनिक २ सय ५० अमेरिकी डलर भत्ता पाउँछन् । युरोपेली मुलुकको भ्रमण गर्दा ३३ प्रतिशत थप गरिन्छ ।

यो अवधिमा २५ मन्त्रीले विभिन्न जिल्ला भ्रमण गरी रकम बुझेका छन् । २१ जना मन्त्रीले पटक–पटक विदेश भ्रमण गरेका छन् ।

गृहमन्त्री रामबहादुर थापाले चैतदेखि असारसम्म भने दैनिक भ्रमणभत्ता, भ्रमण खर्च र हवाई टिकटबापत ८४ हजार ८ सय रुपियाँ बुझेका छन् । २५ जनामा थापा नै सबभन्दा कम रकम बुझ्ने मन्त्री हुन् ।

साइकल मन्त्रीका रुपमा चिनिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सबै मन्त्रीले भन्दा धेरै १३ लाख ८३ हजार ९ सय ६० रुपियाँ बुझेका छन् ।

मन्त्री पण्डितले सर्लाही, रूपन्देही, पाल्पा, सुनसरी, नुवाकोट, कपिलवस्तु, झापा, पर्सा, स्याङ्जा, चितवन, कास्की र मकवानपुर भ्रमण गरेको बिलभर्पाइ बुझाएर रकम लिएका छन् ।

पण्डितले चीन र भारतको समेत भ्रमण गरेका छन् । दुवै देशमा उनी पत्नी विमला महत र सचिवालयका कर्मचारी लिएर गएका थिए । सुरुमा उनले आफू पनि विदेश भ्रमण नगर्ने र तह र मन्त्रालयका कर्मचारीलाई पनि अनावश्यक विदेश भ्रमण गर्न नदिने अडान लिएका थिए ।

वाइड बडी विमान खरिद घोटालामा परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीपनि धेरै भ्रमण भत्ता खाने मन्त्रीमा परेका छन् । मन्त्री अधिकारीले १२ लाख ९७ हजार ७ सय २० रुपियाँ सरकारी ढुकुटीबाट बुझेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले १० लाख ३३ हजार ४ सय ७० रुपियाँ बुझेका छन् । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले ९ लाख ५५ हजार ५ सय ३० रुपियाँ बुझेका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ९ लाख १८ हजार ४ सय ३५ रुपियाँ बुझेका छन् ।

कृषि तथा पशुपन्छीमन्त्री चक्रपाणि खनालले भ्रमण भत्ताबापत ६ लाख ८३ हजार १ सय रुपियाँ बुझेका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ५ लाख ९४ हजार १ सय लिएका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ४ लाख ३५ हजार १ सय बुझेकी छन् ।

सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले ३ लाख ९७ हजार ५० रुपियाँ बुझेका छन् । खानेपानीमन्त्री विना मगरले ३ लाख ५१ हजार ५ सय ५० रुपियाँ भत्ता बुझेकी छिन् ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले २ लाख ४६ हजार ९ सय बुझेका छन् । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले २ लाख २७ हजार २ सय ४० रुपियाँ भ्रमणभत्ता बुझेका छन् ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री कार्यालयबाट २ लाख ११ हजार ३ सय ५० रुपियाँ भ्रमणभत्ता बुझेका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २ लाख २ सय भत्ता बुझेका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले १ लाख ४९ हजार ६ सय बुझेको रेकर्डमा देखिएको छ ।

श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले १ लाख २९ हजार ७ सय भ्रमण भत्ता बुझेका छन् । अर्थमन्त्री युवराज खतिवडाले १ लाख ४० हजार ५ सय, पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले १ लाख १५ हजार २ सय १५, ऊर्जामन्त्री वर्षमान पुनले १ लाख ८६ हजार ७ सय ५०, पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले १ लाख २२ हजार १ सय १० रुपियाँ बुझेको रेकर्ड छ ।

कृषि राज्यमन्त्री रामकुमारी चौधरीले ६ लाख ६२ हजार ६ सय ८५, भूमि व्यवस्थामन्त्री पदमा अर्यालले ३ लाख ३७ हजार ७ सय ९०, स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले १ लाख ९५ हजार र कानूनमन्त्री भानुभक्त ढकालले १ लाख ६४ हजार ८ सय रुपैयाँ भत्ता बुझेका छन् ।

Published : Thursday, 2019 January 10, 8:34 am

1 प्रतिकृया प्राप्त “मन्त्रीहरूको अर्को काण्ड बाहिरियो, ‘साइकलमन्त्री’ले सबैलाई उछिने”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया