ओली सरकार नेकपाका सांसदले ढाल्दै छन्ः कांग्रेस नेता पाण्डे

गोरखा । राष्ट्रिय सभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसको दलका नेता सुरेन्द्रराज पाण्डेले कम्युनिस्ट सरकारलाई सत्तापक्षकै सांसदले ढाल्ने टिप्पणी गरेका छन् ।

गोरखामा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा दलका नेता पाण्डेले प्रधानमन्त्री खड्गप्रसाद ओलीको कार्यशैलीविरुद्ध सत्तापक्षकै सांसदहरू असन्तुष्ट रहेको बताए । ओली सरकारलाई सत्तापक्षकै सांसदहरूले ढल्ने बताए ।

‘सत्ता पक्षका सांसदहरू नै सरकारको काम कारबाहीप्रति सन्तुष्ट छैनन्’, कांग्रेसका केन्द्रय सदस्य पाण्डेले भने, ‘यो परिस्थिति हेर्दै जाँदा वर्तमान खड्गप्रसाद ओलीजीले पूर्ण कार्यकाल सरकारको नेतृत्व गर्न पाउनुहुन्न ।’

‘सरकार ढाल्न सक्ने सांसद संख्या कांग्रेसमा छैनन्’, पाण्डेले भने, ‘तर, यो सरकार छिट्टै नै सत्तापक्षका सांसदले नै ढाल्दैछन् ।’

नेता पाण्डेले वर्तमान सरकार स्थिर रहोस् भन्ने पक्षमा रहेको बताउँदै पाँच वर्ष काम गरोस् भन्ने कांग्रेसको चाहना रहेको बताए ।

कांग्रेस वर्तमान सरकारलाई कुनै असर पार्न सक्ने पक्षमा नरहेको बताएका उनले सत्तापक्षकै वरिष्ठ नेता, सांसद सरकारको समर्थन खड्गप्रसाद ओलीलाई नरहेको बताए ।

‘सबैले देखेकै छन्, यो सरकार स्थिर बनोस्, पाँच वर्षसम्म विकास र संवृद्धिको काम गरोस् भनेर हामीले रचनात्मक सहयोग गरिरहेकै छौं’, उनले भने, ‘तर, यो सरकारले हामीसँग पनि सहयोग लिन सकेन, आफ्नै पार्टीका वरिष्ठ नेता, सांसदहरूसँग पनि साथ र सहयोग लिन सकेको छैन ।’

‘यसले मुलुक फेरि राजनीतिक अस्थिरतातिर जाने अवस्था सिर्जना गरेको छ’, कांग्रेसका नेता पाण्डेले भनेका छन् ।

ओली सरकारको काम कारबाहीलाई सहयोग पु¥याउन र सच्याउनका लागि कांग्रेसले छाँया सरकारको अवधारणा ल्याएको पाण्डेले बताए ।

‘कांग्रेसले सांसदहरूलाई कुन–कुन मन्त्रालय अन्तर्गत काम गर्ने इच्छा छ भनेर संसदीय दलबाट नाम संकलन गरिरहेका छौं’, नेता पाण्डेले भने, ‘यसअघिका सरकारहरूमा जसले जुन मन्त्रालय सम्हालेका साथीहरू हुनुहुन्छ, त्यही मन्त्रालय सम्हाल्ने गरी प्राथमिकता दिएर व्यवस्थापन गर्छौं ।’

समितिले सरकारको अपारदर्शी काम कारबाहीलाई बाहिर ल्याउने पाण्डेको भनाई छ । छाँया सरकार विदेशमा वैध मानिए पनि नेपालमा यसको अभ्यास नयाँ रहेको उनको टिप्पणी छ ।

‘बहुमतको बलमा ओली सरकार मनोमानी ढंगले अघि बढिरहेको छ । देशको ढुकुटीबाट फजुल खर्च भइरहेको छ’, उनले भने, ‘हामीले बनाउने छाँया सरकारले सरकारको छाडातन्त्र नियन्त्रण गर्नेछ ।’

उनले भने, ‘छाँया सरकारले संसदको समितिमा मात्र नभै मन्त्री, सचिव र अरु कर्मचारीको क्रियाकलाप समेत निगरानी गर्नेछौं ।’

कांग्रेसका नेता पाण्डेले डा.गोविन्द केसीको माग पूरा गराउनका लागि र विगतको सम्झौता परिपालना गर्नका लागि भित्रबाट पनि बाहिरबाट पनि दबाब सिर्जना गर्ने बताए ।

उनले वाइड बडी जहाज खरिद प्रकरणमा अख्तियार, लेखा समितिलाई बाइपास गरेर न्यायिक समिति बनाउनु कम्युनिस्ट सरकारको गलत हर्कत भएको बताए ।

‘संसदीय छानविन उपसमिति र लेखा समितिले संसदलाई रिपोर्ट बुझाएको छ’, उनले भने, ‘यसलाई कार्यान्वयन गर्ने जिम्मा सरकारको हो ।’

पाण्डेले भने, ‘सरकारले संसदलाई, अख्तियारलाई नै बाइपास गरेर छानविन समिति भनेर जुन गठन गरेको छ, त्यसको औचित्य छैन ।’

Published : Thursday, 2019 January 10, 11:56 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया