कांग्रेसका वडाध्यक्ष र सदस्यहरू एक भएपछि जिल परे बाह्रविसेका ‘कम्युनिस्ट’ मेयर

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले पेलेर लैजान खोजेपछि वडाध्यक्ष र सदस्यहरूले पाठ सिकाएका छन् ।

मेयरमा निर्वाचित शेर्पा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता हुन् । नगरपालिकामा नेपाली कांग्रेसको बहुमत छ ।

बाह्रविसे नगरपालिकाको नगरसभामा ५० मध्ये कांग्रेसबाट निर्वाचित २८ र नेकपाबाट निर्वाचित २२ सदस्य छन् । वहुमत सदस्य विपक्षमा भएपछि मेयर शेर्पाको एकलौटी गर्ने योजना चकनाचुर बनेको छ ।

नेपाली कांग्रेसका वडाध्यक्ष र सदस्यहरूले नेकपाबाट विजयी भएका मेयर शेर्पाले आफूअनुकूलको मात्रै काम गरेपछि बाध्य भएर असहयोग गरेको बताएका छन् ।

मेयर शेर्पाले कांग्रेसले अगाडि सारेका कार्यक्रम र योजनाहरूमा सधैँ अबरोधका साथै असहयोग गर्न थालेपछि कांग्रेसका वडाध्यक्ष र सदस्यहरूले मेयर शेर्पालाई पाठ सिकाएका हुन् ।

मेयर शेर्पाको कार्यशैलीको विरोध गर्दै बहुमत सदस्यहरूले नगरसभा बहिस्कार गर्दै आएका छन् । नेपाली कांग्रेसका वडाध्यक्ष र सदस्यहरूका विरुद्ध बाह्रविसे नगरपालिकाका मेयर शेर्पाले शनिबार सडकमा पत्रकार सम्मेलन गरेर असहयोग भएको आरोप लगाएका छन् । तर, कांग्रेसका वडाध्यक्ष र सदस्यहरूले मेयर शेर्पाले लगाएको आरोपलाई सिधै खारेज गरिदिएका छन् ।

बाह्रविसे नगरपालिकाले नगरसभा शुक्रबार बस्ने भन्दै नगरकार्यपालिकाका सबै सदस्यहरूलाई पत्रचार गरेको थियो । कांग्रेसबाट निर्वाचित वहुमत सदस्यले मेयर शेर्पाको अधिनायकवादविरुद्ध नगरसभा बहिस्कार गरेका छन् ।

नेकपाका मेयर शेर्पाले डेढ वर्षमा तीन पटक बैठक बहिस्कार भएको बताए । मेयर शेर्पाले कांग्रेसका वडाध्यक्ष र सदस्यहरूविरुद्ध पत्रकार सम्मेलन गरेर छन्नभाँती आरोप लगाएका छन् ।

मेयर शेर्पाले कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कांग्रेसबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिकाका सदस्यहरूलाई बन्धक बनाएर बैठकमा सहभागी हुन नदिएको आरोप लगाएका छन् । मेयर शेर्पाको यो आरोपलाई नेपाली कांग्रेस सिन्धुपाल्चोकले सिधै खारेज गरिदिएको छ ।

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरूले नगरसभा बैठक बहिस्कार नगरेको तर मेयर शेर्पाको अधिनायकवादको विरोधमा बैठकमा नगएको बताएका छन् ।

सिन्धुपाल्चोक जिल्लामा कम्युनिस्टहरूले जितेका नगरपालिका र गाउँपालिकाहरूमा नेपाली कांग्रेसका कार्यक्रम र योजनाहरूमा असहयोग गरेका छन् ।

कम्युनिस्टहरूले कांग्रेसविरुद्ध गतिविधि गर्न थालेपछि बाध्य भएर कम्युनिस्टहरूलाई पाठ सिकाएको नेपाली कांग्रेस सिन्धुपाल्चोकले जनाएको छ ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकले जनताको कामका लागि कुनै पनि अवरोध नहुने तर मेयर शेर्पा र कम्युनिस्टहरूबाट हुने अवरोधको खुलेरै विरोध गरिने चेतावनी दिएको छ ।

Published : Saturday, 2019 January 12, 7:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया