पूर्वएमालेबाट विजयी वडाध्यक्ष काण्ड गरेर फरार

विराटनगर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वडाध्यक्ष बुद्धको मूर्ति चोरी काण्डमा पक्राउ परेको केही दिनभित्रै अर्का वडाध्यक्ष चन्दा असुली काण्डमा फसेका छन् ।

मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका–५ का वडाध्यक्ष चरणसिंह गुरुङलाई चन्दा असुलीको आरोपमा प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ ।

तत्कालीन एमालेबाट वडाध्यक्षमा विजयी भएका गुरुङ विवादित व्यक्ति हुन् । उनले एमालेका नेताहरूको आडमा जिल्लामा अबै गतिविधि गर्दै आएका थिए ।

वडाध्यक्षमा निर्वाचित भएपछि झन् सत्ताको आडमा अबै गतिविधिहरू अगाडि बढाएपछि मोरङ प्रहरीले बाध्य भएर पक्राउ पुर्जी जारी गरेको हो ।

मोरङ प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि कारबाहीबाट बच्न वडाध्यक्ष गुरुङले सत्तारुढ दलका नेता तथा मन्त्री, सांसद र शक्तिकेन्द्र धाउन थालेका छन् ।

गुरुङले क्रसर उद्योग, ढुंगागिट्टी, बालुवा निकासी गर्ने ट्याक्टर र ट्रिपरबाट अवैध चन्दा असुलीको अनुमति दिएको आरोप छ ।

वडाध्यक्ष गुरुङले कानेपोखरी–५ को चिसाङ नदी कटान क्षेत्र पूर्वाधार पीडित गाउँ उपभोक्ता समितिका नाममा नम्बरी जग्गा संरक्षण तथा विकास निर्माणको सहयोगार्थ भन्दै रसिद बनाएर ट्रयाक्टर र ट्रिपरबाट पैसा असुल गर्न अनुमति पत्र दिएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष गुरुङले प्रतिट्रिपर चन्दा स्वरुप १०० रुपियाँसम्म स्थानीय उपभोक्तालाई दिनुपर्ने क्रसर उद्योगी र सर्वसाधरणसँग सहमति गराएका थिए । गुरुङ आफैं क्रसर व्यवसायी हुन् ।

यसअघि पनि पदको दुरुपयोग गरी अवैध ढंगले नदीजन्य वस्तुको निकासी गर्ने गरेको स्थानीयको आरोप छ ।

चन्दा असुलीको आरोपमा दुई जना पक्राउ परेको विषयमा स्थानीयले विरोध गर्दै खोलाबाट खोलाजन्य पदार्थ निकासीमा रोक लगाएका छन् ।

कानेपोखरी–५ र बेलबारी नगरपालिका–८ को बीचमा पर्ने समिर नाका र शान्ति टोल नाकाबाट अवैध चन्दा असुली गरेको भन्दै प्रहरीले कानेपोखरीका रोशन दनुवार र जितन चौधरीलाई पक्राउ गरी चन्दा ऐन अन्तर्गत मुद्दा दायर गरेको थियो । उनीहरू धरौटीमा रिहा भएका छन् ।

उनीहरूले वडाध्यक्षकै अनुमतिमा चन्दा असुल गरेको बताएपछि गुरुङलाई पूर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिएका छन् ।

अवैध ढंगले चन्दा असुल गराउने र दुई जनालाई पक्राउ गराउने पनि वडाध्यक्ष गुरुङ नै रहेको स्थानीय मोहन कटुवालले दाबी गरेका छन् । उनले क्रसरको व्यापार गर्ने र अवैध निकासी गर्ने पनि अध्यक्ष गुरुङ रहेको बताए । गुरुङलाई हदैसम्मको कारबाही गर्न स्थानीयले माग गरेका छन् ।

प्रहरीले पक्राउ पूर्जी काटेसँगै वडाध्यक्ष गुरुङ शुक्रबारदेखि फरार रहेको प्रहरीले जनाएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले पक्राउ परेका युवाहरूले वडाध्यक्ष गुरुङकै आदेशमा चन्दा उठाएको बताएपछि खोजी गरिएको बताएका छन् ।

Published : Saturday, 2019 January 12, 10:19 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया