गोदावरीमा पूर्वएमालेका वडाध्यक्ष–भूमाफियाबीच साँठगाँठ, कांग्रेसका मेयरले छापा हाने

ललितपुर । ललितपुर जिल्लाको गोदावरी नगरपालिकामा बालुवा र ढुंगाको अवैध उत्खनन् भएको भनेर बेलाबेला समाचार आइरहेका बेला वडा नम्बर १० का वडाध्यक्ष दर्शनकुमार विष्ट नै भूमाफियाहरूसँग मिलोमतो गरेर जग्गा प्लटिङमा सहयोग गरेको रहस्य बाहिर आएको छ ।

गोदावरी नगरपालिकाको वडा नम्बर १० मा तत्कालीन एमालेबाट वडाध्यक्षमा विजयी विष्टले भूमाफियाहरूसँग मिलेर जग्गा प्लटिङ गर्ने गरेको आरोप स्थानीयले लगाएका छन् । विष्टले आफ्नै वडामा अबैध रुपमा भएको प्लटिङका बारेमा आफूलाई जानकारी नरहेको भनेर प्रतिक्रिया दिएका छन् ।

स्थानीयहरूको उजुरीका आधारमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले प्लटिङ हुँदै गरेको स्थानमा बिहीबार छापामारेका छन् । छापामार्ने क्रममा मेयर महर्जनले चापागाउँ प्रहरीका प्रमुख डिएसपी राजकुमार खिउजुलाई पनि साथमा लिएर गएका थिए ।

मेयर महर्जनले अबैध रुपमा भएको जग्गा प्लटिङलाई रोक्ने बताए । कार्यकारी प्रमुख कृष्णप्रसाद जैशीले जग्गा प्लटिङमा कुनै पनि स्वीकृत नलिएको बताए ।

नेपाली कांग्रेसबाट मेयरमा विजयी भएका महर्जनले अबैध रुपमा भएको प्लटिङको नक्सा पासका साथै कुनै पनि अनुमति नदिने चेतावनी दिएका छन् ।

दलबलसहित मेयर महर्जन अबैध रुपमा जग्गा प्लटिङ भैरहेको स्थानमा पुगेपछि भूमाफियाहरूको भागाभाग भएको थियो ।

वडाध्यक्ष विष्टको सहयोगमा भूमाफियाहरूले सरकारी जग्गा मिचेर डोजर लगाएर प्लटिङ गरेको गोप्य सूचना मेयर महर्जनलाई पुगेपछि छापामारिएको थियो । सो जग्गामा भएको प्लटिङका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत पत्र पठाएर छानविन थालेको स्रोतले जनाएको छ ।

वडाध्यक्ष दर्शनकुमार विष्टले आफ्नै वडामा भएको अबैध जग्गा प्लटिङका विषयमा आफूलाई कुनै जानकारी नरहेको भन्दै स्थानीय सञ्चारमाध्यमका पत्रकारहरूलाई हास्यास्पद प्रतिक्रिया दिएका छन् ।

स्रोतका अनुसार वडाध्यक्ष विष्टले पाँडेगाउँमा रहेको भगरिथ तिमिल्सिनाको झण्डै ६० रोपनी जग्गामा जबरजस्ती बाटो लगेर जग्गा प्लटिङको शुरुवात गरेको रहस्य बाहिर आएको छ ।

भूमाफिया भने स्थानीयले आरोप लगाएका विमला राई, कुवेर श्रेष्ठ र राजकुमार तिमिल्सिनासँग वडाध्यक्ष विष्टको साँठगाँठ रहेको चर्चा गोदावरी नगरपालिकामा छ ।

विमला राईले मूलडोल, कुवेर श्रेष्ठले सल्यान, राजकुमार तिमिल्सिनाले खसीमारामा जग्गा प्लटिङ गरेका छन् ।

Published : Saturday, 2019 January 12, 11:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया