कम्युनिस्ट सरकारले कांग्रेसमाथि हात हालेपछि प्रतिवाद गर्न एकजुट भए नेताहरू

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कम्युनिस्ट सरकारमा दुई तिहाईको दम्भको उन्माद बढेको टिप्पणी गरेका छन् ।

डा.कोइरालाले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर कम्युनिस्ट सरकारमा पलाएको दम्भ, उन्माद र सर्वसत्तावादी सोँचले नेपाली जनतालाई झस्काएको बताए ।

उनले कम्युनिस्ट सरकारको यो सर्वसत्तावादी उन्मादलाई लगाम लगाउन चेतावनी दिएका छन् । आफ्नो व्यवहारमा कम्युनिस्ट सरकारले सुधार नगरे ठूलो स्वयंमले निम्ताउने संकट व्यहोर्नुपर्ने पनि डा.कोइरालाले चेतावनी दिएका छन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा अघिल्लो सरकारले निर्णय गरेर बनाउने भनिएका अस्पतालहरू खारेज गरेको छ ।

ती अस्पतालहरू तनहुँ र बाँकेमा बनाउने काम शुरु भएका थिए । ओली सरकारको ती दुई अस्पताल खारेज गर्ने निर्णय गरेपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले घोर विरोध गरेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार सिंहदरबारमा आकस्मिक रुपमा पत्रकार सम्मेलन नै गरेर ओली ओली सरकारको हर्कतको विरोध गर्दै सदन र सडकमा प्रतिवाद गर्ने चेतावनी दिइसकेका छन् । यसै विषयमा छलफल गर्न पौडेलले ओलीलाई भेट्न खोज्दा बालुवाटारले समय पनि दिएको थिए ।

‘दुई तिहाईको दम्भ र उन्मादमा सर्वसत्तावादी वर्तमान सरकारले गिरिजाप्रसाद कोइराला स्वाश प्रश्वास केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताल बिघटनको निर्णय गरेर अत्यन्तै ठूलो गल्ती गरेको छ’, डा.कोइरालाले भनेका छन्, ‘नेपाली राजनीतिका युगपुरुष गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामको संस्था बिघठन गर्ने यो सरकारलाई अब सत्तामा बसिरहने कुनै नैतिकता छैन ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.कोइरालाले भनेका छन्, ‘यो कांग्रेसको अस्तित्वमाथिको प्रहार हो । यो निर्णय तत्काल नसच्याइए सरकारले अत्यन्तै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।’

Published : Monday, 2019 January 14, 10:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया