वाइड बडी प्रकरणमा देउवाको संलग्नता छैनः डा.रामशरण महत

घोराही । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता डा.रामशरण महतले वर्तमान कम्युनिस्ट सरकारका कारण संविधान कार्यान्वयन हुनेमा आशंका जन्मिएको बताएका छन् ।

नेपाल प्रेस युनियन दाङ शाखाले घोराहीमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा डा.महतले सरकारले हरेक क्षेत्रलाई पार्टीमुखी र कार्यकर्तामुखी बनाउँदै लगेको आरोप लगाए । उनले भने, ‘हरेक क्षेत्रमा पार्टी कारण बढेको हुँदा व्यतिथि बढेको छ ।’

‘सरकार संविधानमुखी नभई पार्टीमुखी बनेर चलिरहेको छ’, डा.महतले भने, ‘कांग्रेस नेतृत्वको सरकारले जारी गरेको संविधान कार्यान्वयनमा यो सरकारले गम्भीर चासो देखाएको देखिँदैन ।’

कांग्रेसका नेता डा.महतले वर्तमान सरकारले हरेक क्षेत्रमा पार्टीकरण गर्दा मुलुकमा कुशासन निम्तिएको बताएका छन् । उनले मदन भण्डारीको नामबाट सडक निर्माण गर्न खोजिएको भन्दै त्यसप्रति आपत्ति जनाए ।

ठूलाठूला अस्पताल सिँचाइका योजना, विमानस्थल र सडक निर्माण जस्ता राष्ट्रिय योजना सबै कांग्रेसले अगाडि सारेको भए पनि त्यो आज वर्तमान सरकारले आफू र आफ्ना निकटका नेता कार्यकर्ताको लागि मात्रै वितरण गर्न लागेको डा.महतले आरोप लगाए ।

निजी क्षेत्रलाई भगाउने काम वर्तमान सरकरले गरिरहेको कांग्रेसका नेता डा.महतको आरोप छ । ‘सरकारी विद्यालयको स्तरसुधार गरेपछि तर निजी क्षेत्रलाई त्रर्साउने कुरा गलत हो’, डा.महतले भने ‘त्यसले निजी क्षेत्रलाई विदेश पलायन गर्ने खतरा उत्पन्न हुन्छ ।’

नेपाली जनताले कांग्रेसको अपेक्षा गरिरहेको भन्दै डा.महतले कांग्रेस आफ्नो आन्तरिक व्यवस्थापनमा भने चुकेको बताएका छन् । नेतृत्वको कमजोर कार्यशैलीका कारण कांग्रेसमाथि उठ्न नसकेको भन्दै उनले पार्टीको आन्तरिक व्यवस्थापन महत्वपूर्ण रहेको धारणा राखेका छन् ।

पूर्व अर्थमन्त्री समेत रहेका डा.महतले वाइड बडी प्रकरणमा सभापति शेरबहादुर देउवाको नाम अनाहकमा जोडिएको बताए ।

‘वाइड बडी प्रकरणमा सभापति देउवाको कुनै संलग्नता छैन’, उनले भने, ‘छानबिन चलिरहेको छ । को दोषी छ भन्ने कुरा पछि थाहा हुन्छ ।’

उनले छानबिन पछि मात्रै यसमा क कसको संलग्नता छ भन्ने पुष्टि हुने स्पष्ट पारेका छन् ।

Published : Thursday, 2019 January 17, 5:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया