गिरिजा–सुशीलमाथि पूर्वाग्रही बन्यो कम्युनिस्ट सरकारः खाँण

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले कम्युनिस्ट सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएका अस्पतालहरूलाई खारेज गर्ने प्रक्रियामा लगेको भन्दै कडा रुपमा आपत्ति जनाएको छ ।

संसदको शुक्रबारको बैठकमा समय लिएर बोल्दै मुख्य सचेतक खाँणले राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यक्तित्व बनाएका पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामका अस्पतालहरूलाई खारेज गर्न खोज्नुले ठूलो प्रश्न उब्जाएको बताए ।

‘गिरिजाप्रसाद कोइरालाले तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनु भयो । उहाँको क्याबिनेटमा उप्रधानमन्त्री र मन्त्री भएका नेकपाका थुप्रै नेताहरू हुनुहुन्छ । गिरिजाप्रसाद कोइरालाले मुलुकका लागि गर्नुभएको योगदानको सबैलाई जानकारी छ’, उनले भने, ‘सुशील कोइरालाको नेतृत्वमा मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान पायो ।’

कांग्रेसका मुख्य सचेतक खाँणले गिरिजाप्रसाद कोइरालाको नाममा बनेको तनहुँस्थित दुलेगौडाको श्वास प्रश्वास अस्पताल र नेपालगञ्जमा रहेको सुशील कोइराला क्यान्सर अस्पतालको अनुमति खोरज नगर्न कम्युनिस्ट सरकारलाई चेतावनी दिए ।

‘उहाँहरूको नामबाट खोलिएका अस्पतालमा बिरामीहरूको उपचार शुरु भैसकेको छ’, उनले भने, ‘ती अस्पतालहरूलाई केन्द्र सरकारको मातहतमा राखेर सञ्चालन गरिनुपर्छ ।’

स्वास्थ्यमन्त्रालय अन्तर्गत कम्युनिस्ट सरकारले ११ वटा अस्पताललाई स्वीकृतिका लागि मन्त्रिपरिषदमा लगेको थियो ।

मन्त्रिपरिषदबाट ९ वटा अस्पताल र उपचार केन्द्रलाई स्वीकृति प्रदान गरिएको थियो ।

तर, कम्युनिस्ट सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खोलिएका दुई अस्पताललाई मात्रै स्वीकृति प्रदान गरेको थिए ।

नेपाली कांग्रेसले कम्युनिस्ट सरकारको यो व्यवहारलाई राजनीतिक पूर्वाग्रहको संज्ञा दिएको छ ।

Published : Friday, 2019 January 18, 1:59 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया