संसदलाई मान्ने हो भने ओलीजीले पहिला भ्रष्ट मन्त्रीलाई हटाउनुपर्छः खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले प्रधानमन्त्री खड्गप्रसाद ओलीले संसदको सर्वोच्चता मान्छु भनेर संसदमा दिएको अभिव्यक्तिले सार्वभौम संसदको उपहार भएको टिप्पणी गरेका छन् ।

गृहजिल्ला ओखलढुंगामा शुक्रबार कांग्रेसका नेता तथा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रममा नेता खतिवडाले प्रधानमन्त्री ओलीले संसदको सर्वोच्चता मान्छु भनेर सांसदहरुलाई फेरि ढाँटेको बताए ।

‘प्रधानमन्त्री ओलीजीले फेरि संसदलाई ढाँट्नु भएको छ’, उनले भने, ‘ओलीजीले संसदको सर्वोच्चता मान्ने हो भने पहिला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्थ गर्नुपर्छ । वाइड बडी घोटालाका दोषीहरुलाई कारबाही गर्न सार्वजनिक लेखा समितिले दिएको निर्देशनलाई उहाँले खै मानेको ?’

संसदको सार्वजनिक लेखा समितिले पर्यटनमन्त्री अधिकारीसहितका उच्च कर्मचारीहरु, नेपाल वायु सेवा निगमका महानिर्देशक सुगतरत्न कंसाकारलगायतलाई वाइड बडी जहाज खरिद प्रकरणमा भएको घोटालामा बर्खास्थ गरेर छानविन गर्न आदेश दिएको थियो ।

तर, कम्युनिस्ट सरकारले चार अर्ब ३० करोड घोटाला प्रकरणमा मुछिएका पर्यटनमन्त्री अधिकारीसहितका उच्च कर्मचारीहरुलाई बर्खास्थ नगर्ने जनाइ सकेको छ ।

संसदमा शुक्रबार नेपाली कांग्रेसका सांसद गगन थापाले डा.गोविन्द केसीको अनसनलाई लिएर सोधिएको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले आफू संसदको सर्वोच्चताको पक्षमा रहेको भन्दै डा.गोविन्द केसीले भन्दैमा संसद बन्धक नबन्ने बताएका थिए ।

नेपालबाट ५४ अर्ब रुपियाँ विदेश बाहिरिएको विषयमा प्रधानमन्त्री ओलीले संसदलाई दिएको जवाफमा पनि कांग्रेसका पूर्वसांसद खतिवडाले चित्त बुझाएका छैनन् ।

‘नेपालीहरुलाई लगानी गर्ने वातावरण बनाउनु पर्छ । त्यसपछि मात्रै लगानी नेपालभित्र रहन्छ’, उनले भने, ‘नेपालकै व्यापारीलाई लगानीको वातावरण नबनाउने विदेशी लगानी भित्र्याउँछु भनेर ओलीजीको कुरामा कुनै दम छैन । उहाँले धेरै गफ नदिए पनि हुन्छ ।’

Published : Friday, 2019 January 18, 5:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया