कर्मचारीलाई हस्तक्षेप गरे कम्युनिस्ट सरकारविरुद्ध आन्दोलन हुन्छः देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीतन्त्रमा हस्तक्षेप गरे कम्युनिस्ट सरकारबिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

पोखरामा शनिबार आयोजित कार्यक्रममा देउवाले केपी ओली सरकारले सबै क्षेत्र आफ्नो नियन्त्रणमा लिन खोजेको आरोप लगाए ।

‘शिक्षा विधेयक होस् वा कर्मचारी समायोजन सम्बन्धमा ओली सरकारले हस्तक्षेप गर्न खोजेको देखिन्छ’, देउवाले भने, ‘उसले सबै क्षेत्रमा हस्तक्षेप गर्दै कन्ट्रोल गर्न खोजेको छ । यस्तै रहे सरकारबिरुद्ध सदनदेखि सडकसम्म आन्दोलनमा उत्रिन्छौं ।’

उनले कांग्रेस स्वतन्त्र कर्मचारीतन्त्रको पक्षमा रहेको बताए । यसमा हुने हस्तक्षेप स्वीकार्य नहुने देउवाले बताएका छन् । ‘हामी इनडिपेन्डेन्ट ब्यूरोक्रेसीको पक्षमा छौं’, उनले भने, ‘यसमा हस्तक्षेप भएको हामी सहन्नौं, हामी जस्तोसुकै आन्दोलन गर्न पनि तयार छौं ।’

कांग्रेसका सभापति देउवाले ओली सरकारलाई कांग्रेसका नेताहरुको नामप्रति एलर्जी भएको टिप्पणी गरेका छन् ।

गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पताल बन्द गर्न खोजेको देउवाले आरोप लगाए । ‘आज कांग्रेसका महान नेताहरुको नामप्रति ओली सरकारलाई एलर्जी भएको छ’, उनले भने, ‘अनि आज नाम हटाउँछन् र भोलि प्रजातन्त्र समेत हटाउन चाहन्छन् ।’

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कर्मचारीको वृत्ति विकासमा असर पारे चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

पौडेलले वर्तमान सरकारले लोकतान्त्रिक प्रणाली, संविधान, कर्मचारीमाथि हस्तक्षेप गरेर सर्वसत्तावाद लाद्ने प्रयासमा रहेको बताए ।

Published : Saturday, 2019 January 19, 5:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया