कम्युनिस्ट सरकारलाई झुकाउन नेविसंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । मेडिकल शिक्षाको सुधारलाई लिएर शुरु गरेको डा.गोविन्द केसीको अनसनप्रति कम्युनिस्ट सरकारले बेवास्ता गरेपछि नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले वृहत प्रदर्शनको कार्यक्रम सार्वजनिक गरेको छ ।

नेविसंघको केन्द्रीय कार्यसमितिको आह्वानमा माघ ९ गते दिउँसो १ बजे काठमाडौंको माइतीघर मण्डलामा कम्युनिस्ट सरकारविरुद्ध वृहत प्रदशन हुन लागेको महामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिए ।

उनले सरकार विरोध कार्यक्रममा सहभागी हुन लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति विश्वास गर्नेहरूलाई आग्रह गरेका छन् ।

‘डा.गोविन्द केसीले मेडिकल शिक्षाको सुधार माग गरेर अनसन बस्दा पनि कम्युनिस्ट सरकारले सुनुवाइ गरेन । निर्मला पन्तका बलात्कारी र हत्यारालाई अहिलेसम्म पक्राउ गर्न नसकेपछि सरकारविरुद्ध वृहत प्रदर्न गर्न लागेका छौँ’, उनले भने, ‘सरकार विरोधी कार्यक्रममा सहभागी हुन सबैमा अपील गरेका छौँ ।’

कम्युनिस्ट सरकारले मेडिकल माफियाहरूलाई फाइदा हुने गरेर संसदमा दुई तिहाईको बहुमतको आडमा चिकित्सा शिक्षा विधेयक अगाडि बढाएपछि डा.गोविन्द केसीले अनसन शुरु गरेका छन् ।

डा.केसीको मागलाई पूरा नगर्ने अडानमा कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली देखिएपछि नेविसंघले दवावका लागि प्रदर्शन गर्न लागेको छ ।

यसैबीच, आमरण अनसनरत डा.गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा प्रदर्शन भएको छ ।

माइतीघर मण्डलाबाट शुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सहभागीहरुले ‘सरकार जनताको हो कि माफियाको ?’, ‘हिजोको सम्झौता कता गयो ? सरकारको नैतिकता गायव भयो ?’ ‘माफिया मुखी ऐन चाहिँदैन’ जस्तो नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

 

Published : Saturday, 2019 January 19, 10:14 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया