कम्युनिस्टहरू कसरी झुठ बोल्छन् ? कांग्रेसले उठाइदियो पर्दा

बेंसीसहर । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने बाध्यता भएको बताएका छन् ।

नेपाल प्रेस युनियन लमजुङ शाखाले सोमबार बेंसीसहरमा आयोजना गरेको कार्यक्रममा देउवाले वर्तमान सरकारले नागरिकका अभिव्यक्ति स्वतन्त्रमा समेत हस्तक्षेप गरेको आरोप लगाए ।

‘सरकारले नागरिकको शान्ति सुरक्षा दिन सकेन । नागरिकलाई बोल्न र हिँड्न दिइएको छैन’, सभापति देउवाले भने, ‘मान्छे डराइडराई हिँड्नु परेको छ । सरकारको यस कार्यविरुद्ध हामीलाई आन्दोलन गर्नुपर्ने बाध्यता छ ।’

देउवाले ओली सरकार बनेपछि हत्या, हिंसा र बलात्कारका घटना एकपछि अर्को गरेर भइरहेको बताए । ‘निर्मला पन्तले लगाएको लुगा समेत धोई पखालेर प्रमाण नष्ट गर्ने षड्यन्त्र भइरहेको छ’, उनले भने, ‘सरकारले नै निर्मला पन्तको हत्या र बलात्कारीलाई बचाउन खोजेको छ ।’

नागरिकलाई शान्ति सुरक्षा दिने सरकारको कर्तव्य र दायित्व भएपनि शान्त वातावरणमा विना डर त्रास हिँड्न पाउने, बाँच्न पाउने अधिकारमाथि सरकारले हस्तक्षेप गरेको उनले बताएका छन् ।

‘प्रत्यक्ष अप्रत्यक्ष रूपले अभिव्यक्त स्वतन्त्रतामाथि आक्रमण र कब्जा गर्न खोजिएको छ । यसलाई प्रजातन्त्रको खिलाफको रूपमा लिइनुपर्छ’, कांग्रेसका सभापति देउवाले भने, ‘फ्रि–प्रेस र प्रजातन्त्र पर्यायवाची हुन् । एक अर्काका परिपुरक हुन् । प्रजातन्त्र विरोधी काम गर्ने छुट कसैलाई छैन ।’

कांग्रेस केन्द्रीय सदस्य डा.रामशरण महतले हरेक क्षेत्रमा कम्युनिस्ट हाबी भएको आरोप लगाएका छन् । ‘कांग्रेसले निर्माण गरेका विकास आफैँले गरेको भन्दै कम्युनिस्टले भन्दै हिँडे’, उनले भने, ‘९० प्रतिशत राष्ट्रिय योजना कांग्रेसकै पालामा सुरु भएका छन् । कांग्रेसले नै बनाएका छन् ।’

‘आफू काम नगर्ने अनि अरूले गरेका कामको जस आफैँ लिने कम्युनिस्टका कारण विकास हुन सकेन’, डा.महतले भनेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य दिलबहादुर घर्तीले कम्युनिस्ट सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । ‘प्रेसदेखि अदालतसम्म हस्तक्षेप गरेको छ’, उनले भने, ‘संसदीय व्यवस्थामाथि नै कम्युनिस्टले हस्तक्षेप गरेका छन् ।’

Published : Monday, 2019 January 21, 6:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया