ओलीजी पत्नी घुमाउन विदेश जानुभयोः रामहरि खतिवडा

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वसांसद रामहरि खतिवडाले चिकित्सा शिक्षामा सुधारको माग राखेर अनसनमा बसेका डा.गोविन्द केसीलाई बेवास्ता गर्दै कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली श्रीमती लिएर विदेश भ्रमणमा गएको भन्दै आपत्ति जनाएका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) ओखलढुंगाको १२औँ अधिवेशनको सोमबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै पूर्वसांसद खतिवडाले कम्युनिस्ट सरकारले डा.केसीको अनसन र मागलाई बेवास्ता गर्न नहुने बताए ।

‘डा.गोविन्द केसी चिकित्सा शिक्षाको सुधारका लागि विगतमा भएका सहमति कार्यान्वयनको माग राखेर अनसनमा बस्नुभएको छ’, उनले भने, ‘हाम्रा प्रधानमन्त्री खड्गप्रसाद ओलीजी श्रीमती लिएर विदेश भ्रमणतिर हिंड्नु भएको छ । कति बिडम्बनाका अवस्था आएको छ ।’

कांग्रेसका नेता खतिवडाले देश आफ्ठेरो अवस्थामा रहेका बेला ओलीले पानीजहाज र रेलको कुराभन्दा अरु केही नगरेको भन्दै आक्रोश व्यक्त गरे । ‘अब कुन दिन स्वर्गमा जाने पुल बनाइदिन्छ भन्न बेर लाउनु हुन्न’, खतिवडाले भने, ‘ओलीजीका हरेक कुरा झुठले भरिपूर्ण हुन्छन् ।’

चुनाव जित्ने बितिकै ५ हजारको दरले घरघरमा गएर वृद्ध भत्ता दिन्छौ भनेको कुरा कम्युनिस्ट नेता र सरकारलाई स्मरण गराइदिएका कांग्रेसका नेता खतिवडाले भने, ‘कांग्रेस नेतृत्वको सरकारले गरेका राम्रा निर्णयहरू सबै उल्ट्याइएको छ । ६५ वर्ष उमेर पुगेको भात्ता काट्ने काम भएको छ । भूकम्पपीडितको राहत कटौती भएको छ, गम्भीर किसिमको सबै रोगीहरूलाई दिने भनेको पैसा कम्युनिस्ट सरकारले काट्ने काम गरेको छ ।’

कांग्रेसका युवा नेता खतिवडाले ४ अर्ब ५० करोड भ्रष्टाचार हुँदा पनि कम्युनिस्ट सरकार चुपचाप लागेर बसेको बताए । ‘कांग्रेसले हार्दा आज लोकतन्त्रले हारेको छ’, उनले भनेका छन् ।
कांग्रेसले हार्दा ओखलढुंगाको विकासपनि पराजित हुनुपरेको उनले बताए ।

ओखलढुंगाका नेपाली कांग्रेसका सभापति प्रदीपकुमार सुनुवरले कम्युनिस्ट सत्तामा मानवअधिकार हनन् भएको बताए ।

Published : Monday, 2019 January 21, 11:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया