नेविसंघको कार्यक्रम विथाल्न खोज्नेहरूले भेटे चड्कन

ओखलढुंगा । ओखलढुंगा जिल्लामा आसन ग्रहणको विषयमा विवाद हुँदा नेपाल विद्यार्थी संघको जिल्ला अधिवेशनको उदघाटन सत्रमा कांग्रेस नेताहरूबीच कुटाकुट भएको छ ।

सोमबार साँझ मञ्चमै भएको कुटाकुटमा रामचन्द्र पौडेल समूहका नेता बालकृष्ण दाहालले चडकन भेटाएका छन् । दाहालको चस्मा पनि फुटेको छ ।

दाहालले आँखामा चोट लागेको र सामुदायिक अस्पतालमा परीक्षण गरेको बताएका छन् । दाहालसहितको समूहले रक्सी पिएर मञ्चमा उक्लिएर कार्यक्रम विथोल्न खोजेपछि सभापति शेरबहादुर देउवा समूहले रामधुलाई गरेको प्रत्यक्षदर्शीले जानकारी दिए ।

कार्यक्रम विथोल्न खोज्ने ओखलढुंगाको पूर्वसभापति गोमा केसीमाथि पनि कुटपिट भएको छ । केसीले पत्रकार सम्मेलनमा आफूमाथि जिल्ला सभापति प्रदीप सुनुवारले हातपात गरेर आरोप लगाइन् ।

नेविसंघका केन्द्रीय उपाध्यक्ष नवीन राईलाई प्रमुख अतिथि बनाउनुपर्ने कुरामा विवाद भएको थियो ।

जिल्ला सभापति प्रदीप सुनुवारलाई प्रमुख अतिथि बनाएपछि विवाद सुरु भएको थियो ।

मञ्चमा जिल्ला सभापति प्रदीप सुनुवार, उपसभापति तेजेन्द्र खनाल र नेताहरू बालकृष्ण दाहाल, लीलाबल्दभ दाहाल, पूर्व सभापति गोमा केसीबीच झडप भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

झडपपछि असन्तुष्ट पक्षले नेविसंघको कार्यक्रम बहिस्कार गरेका छन् । नेताहरूको कुटाकुटपछि विद्यार्थीसमेत दुई पक्षमा विभाजित भएका छन् ।

विद्यमान पदाधिकारी तथा प्रतिनिधि आएका विद्यार्थीहरु पक्ष विपक्षमा बाँडिए पनि अधिवेशनको बन्द सत्र भने सञ्चालन भएको छ ।

संस्थापन पक्षले विधी मिचेर अधिवेशन गरेको भन्दै विवादपछि असन्तुष्ट पक्षका नेताहरुले सोमबार साँझ पत्रकार सम्मेलन गरेर जिल्ला सभापति प्रदीप सुनुवार र उपसभापति तेजेन्द्र खनालको राजीनामा माग गरेका छन् ।

कांग्रेस ओखलढुंगाका जिल्ला सभापति प्रदीप सुनुवारले मादक पदार्थ सेवान गरेका केही व्यक्तिहरू घुसाएर पार्टी हितविरुद्ध लागेका तत्वहरूले आफूमाथि आक्रमण प्रयास गरेको बताए ।

सभापति सुनुवारले आफूमाथि आक्रमण प्रयास गर्नेहरूलाई अनुशासनको कारवाही गर्ने चेतावनी दिएका छन् ।

लामो समयदेखि आन्तरिक विवादमा अल्झिएको कांग्रेसको विवाद अहिले आएर झडपमा पुगेको छ ।

संसदीय निर्वाचनमा असहयोग गरेको भन्दै असन्तुष्ट पक्षका केही नेताहरुलाई भने जिल्ला समितिले यसअघि नै कारवाही गरेको पनि सभापति सुनुवारले बताएका छन् ।

Published : Tuesday, 2019 January 22, 12:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया