लम्कीबाट कम्युनिस्ट सरकारलाई कांग्रेस नेताहरुको चेतावनी, ओलीको अधिनायकवाद भत्काइदिने

धनगढी । नेपाली कांग्रेसका नेताहरुले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले देशलाई अधिनायकवादतर्फ उन्मुख लगेको भन्दै कम्युनिस्टहरुको अराजकतालाई कांग्रेसले जसरी पनि रोक्ने चेतावनी दिएका छन् ।

कैलाली जिल्लाको लम्कीमा बुधबार नेपाली कांग्रेस क्षेत्र नं. २ ले आयोजना गरेको क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेसका नेताहरुले प्रधानमन्त्री ओलीमा नयाँ राजा बन्ने इच्छा पलाएको आरोप लगाए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले कम्युनिस्ट सरकारमा दुई तिहाइको दम्भले अधिनायकवाद ल्याउन इच्छा पलाएको बताए ।

‘ओलीजीमा दुई तिहाइ बहुमतको दम्भ देखिएको छ’, उनले भने, ‘लोकतान्त्रिक शासन व्यवस्थामा ओलीजीलाई किन चाहियो अधिकारहरु ? संविधानले दिएको अधिकारभित्र रहेर काम गरे हुँदैन ?’

अधिनायकवाद ल्याउनकै लागि कम्युनिस्ट सरकारका प्रधानमन्त्री ओलीले सम्पत्ति शुद्धीकरण विभाग, राष्ट्रिय अनुसन्धान विभाग जस्ता महत्वपूर्ण निकायलाई आफू मातहतमा लगेको भन्दै डा.कोइरालाले भने, ‘विना टेण्डर आफू खुसी पचास अर्बको ठेक्का दिने कुराले ठूलो आशंका उत्पन्न गराइदिएको छ । यसले देशमा ठूलो अराजकता निम्ताउने छ । भ्रष्टाचार बढाउँछ । ओलीजीले बुझ्नु पर्छ यो कुरा ।’

केन्द्रीय सदस्य डा.कोइरालाले आगामी महाधिवेशनमा आफू पनि सभापतिको दावेदार रहेको बताए । उनले आफू सभापति भएमा कांग्रेसभित्रको गुट अन्त्य गर्ने बताए ।
केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले कम्युनिस्ट सरकारको अधिनायकवाद ल्याउन महत्वकांक्षालाई कांग्रेसले राम्रोसँग बुझेको बताए ।

‘देशमा अधिनायकवाद ल्याउन षड्यन्त्र भैरहेको छ’, उनले भने, ‘राज्यका हरेक निकाय र अंगमा कम्युनिस्ट सरकारले हस्तक्षेप गरिरहेको छ । यसले गर्दा कर्मचारी संयन्त्रमा ठूलो डर उत्पन्न भएको छ ।’

गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका अस्पतालहरु राजनीतिक पूर्वाग्रही राखेर सरकारले खारेज गर्ने प्रक्रियामा लगेको भन्दै केन्द्रीय सदस्य गिरीले भने, ‘देशको लागि ठूलो योगदान दिएका पूर्वप्रधानमन्त्रीहरुको नाममा खुलेका अस्पतालका बारेमा कांग्रेसले कुनै पनि सम्झौता गर्दैन ।’

केन्द्रीय सदस्य गिरीले कांग्रेसभित्र एकताको खाँचो रहेको पनि बताए । उनले भने, ‘पहिला हामी एक हुनुपर्छ । त्यसपछि विरोधीहरुसँग लड्न सजिलो हुन्छ ।’ नेता गिरीले कांग्रेसले अबका दिनहरुमा संगठन सुदृढीकरण गरेर आउने निर्वाचनमा एक नम्बर पार्टी बनाउनुपर्ने बताए ।

केन्द्रीय सदस्य गुरुराज घिमिरेले कांग्रेसका केही नेताहरुमा सामन्तवाद हाबी भएको आरोप लगाए । उनले भने, ‘कांग्रेसभित्र पनि सामन्तवादको गन्ध आइरहेको छ । कार्यकर्ताले पार्टीभित्र आफूलाई सुरक्षित भएको महशुस गरिरहेका छैनन् ।’

केन्द्रीय सदस्य कल्याण गुरुङले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयभित्र हुनुपर्ने बताए । ‘अहिलेको केन्द्रीय कार्यसमितिको म्याद थप गर्नु हुँदैन’, उनले भने, ‘तोकिएको समयभित्र महाधिवेशन गरे कांग्रेसलाई नयाँ जीवन दिनुपर्छ ।’

बुधबार उद्घाटन गरिएको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा कैलाली कांग्रेसका सभापति नरनारायण शाह, कैलालीबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद भरत खड्का, प्रदेश सांसद रणबहादुर रावल, नेता हेमबहादुर रावल लगायतका नेताहरुको सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न हुनेछ ।

Published : Wednesday, 2019 January 23, 7:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया