ओलीले काठमाडौं टेकेकै दिन नेविसंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध आन्दोलन घोषणा गरेको छ ।

कम्युनिस्ट सरकारले नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खोलिएका अस्पतालहरू खारेजी प्रक्रियामा लगेपछि आक्रोशित बनेको नेविसंघले आन्दोलन घोषणा गरेको हो ।

‘वर्तमान अधिनायकवादी सरकारले संसदभित्र बहुमतको आडमा गरेको हर्कतका बिरुद्धमा सशक्त आन्दोलनमा होमिन हार्दिक अपील गर्दछौँ’, नेविसंघले भनेको छ, ‘कांग्रेस नेताहरूका नाममा खोलिएका अस्पतालहरूको अस्तित्व खारेज गर्ने जस्ता सर्बसत्तावादी सोँच र संसदमा चिकित्साशास्त्र शिक्षा विधेयक प्रस्तुत गर्ने क्रममा गरिएको घात समग्र रुपमा मुलुकमा कम्युनिष्ट सर्बसत्तावादी सोँचको उपज भएको ठहर गर्दै यस्तो कदमका विरुद्ध आन्दोलनको आँधीबेहरी सृजना गरी फेरि पनि लोकतन्त्रको रक्षाका निम्ति एकताबद्ध हुनुको बिकल्प छैन ।’

नेविसंघले भनेका छ, ‘खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारविरुद्ध अब आन्दोलनको विकल्प नभएकाले देशैभरिका सम्पूर्ण जुझारु विधार्थी साथीहरूलाई आन्दोलनको मैदानमा होमिन अपील गर्दछौं ।’

नेविसंघले आइतबार अर्थात माघ १३ गते बिहान ८ बजे उपत्यकाका सम्पूर्ण कलेज अगाडि बिरोध प्रदर्शनको कार्यक्रम राखेको छ । सबै क्याम्पस अगाडि हुने सरकारविरुद्धको प्रदर्शनमा सहभागी हुन नेविसंघले सबैलाई आग्रह गरेको छ ।

त्रिचन्द्र कलेज, पशुपति कलेज चाबहिल, आरआर कलेजसहितका अधिकांश कलेज अगाडि बिरोध प्रदर्शने नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।

अध्यक्ष महरले कम्युनिस्ट सरकारले अधिनायकवाद लादन शुरु गरेकाले नेविसंघ चुप लागेर सहेर बस्ने अवस्था नरहेको बताए । ‘नेविसंघले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारको निरंकुशता सहेर बस्दैन’, उनले भने, ‘कम्युनिस्टहरूको सर्बसत्तावादविरुद्ध आन्दोलन गर्नुपर्छ । हामीले यो कम्युनिस्ट सरकारलाई झुकाइ छाड्छौं ।’

Published : Saturday, 2019 January 26, 5:36 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया