कम्युनिस्टविरुद्ध उथलपुथल ल्याउन कांग्रेसद्वारा आन्दोलन घोषणा, ओलीले विश्रम गर्न नपाउने

काठमाडौं । कम्युनिस्ट सरकारले अधिनायकवादी चरित्र देखाएपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले ७७ वटै जिल्लामा आन्दोलनको घोषणा गरेको छ ।

ललितपुरको सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारविरुद्ध माघ २१ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शनको घोषणा गरेको हो ।

स्वीट्जरल्याण्ड भ्रमणबाट आएको २४ घण्टा वित्न नपाउँदै नेपाली कांग्रेसले ओलीलाई विश्रम गर्न नदिइ आन्दोलन घोषणा गरेको छ । कांग्रेसको आन्दोलन घोषणाले कम्युनिस्ट सरकार ठूलो दवावमा परेको छ ।

‘गत माघ ११ गते प्रतिनिधिसभामा संसदीय प्रणाली र परम्परा विपरित मर्यादापालक प्रयोग गरी बलपूर्वक विधेयक पारित गरिएको घटनालाई गम्भीरतापूर्वक लिंदै बैठक त्यसको घोर भर्त्सना गर्दछ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘माघ २१ गते ७७ जिल्लामा विरोध प्रदर्शन आयोजना गर्ने, प्रदर्शन निम्न ६ मुद्दामा केन्द्रित रहनेछ ।’

नेपाली कांग्रेसले विज्ञप्तिमा भनेको छ, ‘संसदमा माघ ११ गते भएको बलजफ्तीको घटना, प्रधानमन्त्री स्वयंको अग्रसरतामा भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य र डा.गोविन्द केसीको अनसनप्रति संवेदनहीन व्यवहार भएको छ ।’

‘नेपाली कांग्रेसका स्वर्गीय नेताहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई नामेट गर्न सरकारले गरेको दुष्प्रयास गरेको छ’, कांग्रेसले विज्ञप्तिमा भनेको छ ।

‘प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति विना संवैधानिक परिषद्को बैठक राख्नु र नियुक्तिका केही निर्णय गर्नु लोकतान्त्रिक मूल्य र परम्परा विपरीतको घटना’, नेपाली कांग्रेसले भनेको छ, ‘देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल देखिएको छ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ महिना पुगी सक्दा पनि दोषी पत्ता लगाउन त परै जावस् निर्दोषलाई दोषी ठह¥याउने षडयन्त्र भएको छ ।’

कांग्रेसले महंगी, भ्रष्टाचार एवं अनेकौं जनविरोधी निर्णयहरू तथा जिल्लास्तरमा रहेका स्थानीय मुद्दाहरूलाई नाराका रुपमा लिने निर्णय पनि गरेको छ ।

माघ २१ को प्रदर्शनमा व्यापक सहभागिताका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले सबैमा हार्दिक अपील गरेको छ ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक माघ १४ गते दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा पुनः बस्नेछ ।

आइतबारको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री डा.प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा.रामशरण महत, अर्जुननरसिंह केसी, महेश आचार्य, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, अर्जुनप्रसाद जोशी, धनराज गुरुङ, सुरेन्द्रराज पाण्डे, गोविन्द भट्टराई, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, प्रवक्ता विश्वप्रकाश शर्मा र सरिता प्रसाइँले आफ्नो धारणा राखेका थिए ।

Published : Sunday, 2019 January 27, 7:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया